काठमाडौं– काठमाडौंको गोंगबुमा जन्मिएका न्हुछेनारायण मानन्धरले ५ दशक नेपाली कांग्रेसको संगठनका विभिन्न पदमा रहेर काम गरेका छन्। अहिले उनी मंसिर २१ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ६ (क) बाट प्रदेशसभाको प्रत्यक्ष उम्मेदवार बनेका छन्। मानन्धरसँग चिर्वाचनको सेरोफेरोमा गरिएको कुराकानीः
काठमाडौं–६ को प्रदेशसभा (क) बाट उम्मेदवारी दिनु भएको छ, यो क्षेत्रका समस्या के देख्नुभएको छ?
म ५ दशकदेखि राजनीतिमा सक्रिय रहेर देशको विकासमा खटिरहेको छु। यहाँको विकास निर्माण गर्न सधैं सक्रिय भएर लागिरहेको छु। यहाँ कस्तो विकास आवश्यक छ भनेर मलाई राम्रोसँग थाहा छ। सहरी क्षेत्र पर्ने भएकाले यस क्षेत्रमा विकासका तरंग फैलाउनु पर्नेछ।
अहिलेको आवश्यकता शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा बाटोघाटो हो। मैले मेरो ठाउँमा सरकारको कुनै सहयोगबिना खानेपानीको व्यवस्था गरें। गंगबुमा ढल बनाउने होस् या बाटो फराकिलो बनाउने जस्ता विकासका काममा मेरो सक्रियता सधैं छ। त्यस भेगका जनताका लागि मैले गर्न सक्ने काम बिना हिचकिचाहट गरिरहेको छ। म विजयी भएपछि पनि यो क्षेत्रमै केन्द्रित भएर विकास निर्माणमा लाग्नेछु। यहाँका जनताको जीवनस्तर उकास्नु नै पहिलो प्राथमिकता हुनेछ। अहिले वाम गठबन्धनले प्रहार गरिरहेका बेला लोकतन्त्रलाई बलियो बनाउनुपर्नेछ। त्यसका लागि पनि यहाँका जनताले नेपाली कांग्रेसलाई मत दिएर विजयी गराउनेछन्।
तपाईं खानेपानी बोर्डको सदस्य भएर के–के काम गर्नु भयो नि?
मेरो कार्यकालमा काठमाडौंमा पानी व्यवस्थापन त्यति राम्रो थिएन। मैले गर्न सकिने काम गरें। अब मेलम्ची आए पनि ५–७ वर्ष मात्र त्यो आयोजनाले धान्न सक्छ, खानेपानीको समस्य फेरि उस्तै हुनेछ। त्यसका लागि मैले जितेर गएँ भने नयाँ योजनाबारे बहस गर्नेछु।
मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ?
यस क्षेत्रबाट पहिले गाविसमा विभिन्न पदमा रही काम गरिसकेको छु। नेपाली कांग्रेसको क्षेत्र नम्बर ६ को क्षेत्रीय सभापति भएको नाताले पनि यस भेगका जनताले मलाई विश्वास नगर्ने कुरै हुँदैन। यस क्षेत्रमा जहिले पनि नेपाली कांग्रेसबाट जितेर गएका सांसदले जनताको आवश्यकता अनुसारका काम गरेका छन्। तर, अहिले निरन्तर रूपमा मतदाताको घरमा पुग्दा म आफैं चकित परेको छु। मैले सोचेभन्दा बढी रूपमा मतदाताले मलाई रुचाएका छन्। मतदाताको उत्साह देखेर चुनाव जित्ने आत्मविश्वास बढेको छ।
तपाईंलाई मत किन दिने?
जनप्रतिनिधिको साथ नपाएको यहाँका जनताको गुनासो छ। विजयी भएपछि यहाँका जनताको साथमा रहेर काम गर्ने प्रतिबद्धता गरेको छु। यस प्रदेशको विकास तालिका बनाएरै अगाडि बढाउने योजना प्रस्तुत गरेको छु। यस क्षेत्रको पहिचान हुनेगरी संरचना बनाउनेछु। म यस प्रदेशको समृद्धिको अभियानमा लाग्नेछु। मतदाताकहाँ हरेक दुःखसुखमा साथ दिने वाचा गरेको छु, त्यसैले यहाँका जनताले मलाई मत दिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।