काठमाडौं– घुस खाएर चिम्पान्जी तस्करीमा सघाएको आरोपमा विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत आशुतोष राई पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई शुक्रबार पक्राउ गरेको हो। तस्करीमा संलग्न दुई कर्मचारी यसअघि नै पक्राउ परिसकेका छन्।
भन्सारका नायव सुब्बा चुडामणि दाहाल शर्मा र क्वारेन्टाइन कार्यालयका कर्मचारी धीरेन्द्र साहलाई सिआइबीले दुई साताअघि नै पक्राउ गरेको थियो। उनीहरुको बयानको आधारमा भन्सार अधिकृत राई पक्राउ परेका हुन्। विमानस्थल भन्सार कार्यालयले अधिकृत राई तथा नासु शर्मासहित अर्का नासु लीला पनेरुलाई निलम्बन गरी उनीहरुलाई विभागीय कारबाहीका लागि सिफारिस गरिसकेको छ।
सिआइबीले विमानस्थलबाटै पास भएको दुई वटा चिम्पान्जी, ६ वटा बाँदर र चराहरुसहित ६ जनालाई गत असोज ३१ मा पक्राउ गरेको थियो। उनीहरुले भन्सार कर्मचारीलाई घुस खुवाएर चिम्पान्जी तस्करी गरेको बताएका थिए। सोही आधारमा त्यसबेला ड्युटीमा रहेका कर्मचारीहरु समेत छानबिनमा तानिएका हुन्। चिम्पान्जी तस्करीमा उनीहरुले ५० हजार रुपैयाँ घुस लिएका थिए।
सिआइबीले ३१ असोजमा सञ्जीव भारती, राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फएन र शरिफ सहिन तथा पाकिस्तानी नागरिक आवेद अस्लामा खानलाई पक्राउ गरेको थियो। चिम्पान्जी तस्करीमा चरा आयात गर्ने भारतीको लाइसेन्स प्रयोग भएको थियो। भन्सार एजेन्ट तिवारीले कर्मचारीलाई घुस खुवाएर चिम्पान्जी तस्करीको सेटिङ मिलाएका थिए।
सिआइबीले संगठित अपराध मुद्दामा उनीहरुमाथि अनुसन्धान गरिरहेको छ। यसमा ठूलै अन्तरदेशीय गिरोह संलग्न रहेको सिआइबीका निर्देशक डिआइजी पुष्कर कार्की बताउँछन्।
दर्जनौं पटक तस्करी गरेको आशंका
सो समूहले नेपाललाई ट्रान्जिट बनाई लामो समयदेखि चिम्पान्जी तस्करी गर्दै आएको प्रहरीले जनाएको छ। चराहरुभित्र लुकाएर उनीहरुले चिम्पान्जी तस्करी गर्दै आएका थिए।
भन्सार एजेन्ट तिवारीले आफ्नै नाममा समेत चरा आयात गर्ने लाइसेन्स राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट लिएका थिए। सोही आधारमा उनले पटकपटक चरा भन्दै त्यसमा लुकाएर लोपोन्मुख तथा संरक्षित वन्यजन्तु आयात गर्दै आएका थिए।
आन्तरिक अनुसन्धानमा समेत तिवारीले ४१ पटक चराको भन्सार पास गराएको खुलिसकेको छ। बिबिसी लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत लामो समयदेखि नेपालबाट चिम्पान्जीको तस्करी हुँदै आएको बताएका छन्।
गत असोजमा पहिलोपटक चिम्पान्जी बरामद भएको थियो। भारत लैजानका लागि अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएर चिम्पान्जी तस्करी गर्दै आएको सिआइबीले जनाएको छ। उक्त प्रकरणपछि विमानस्थलबाट हुने चरा, कुकुरको आयातमा समेत कडाइ गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायण सापकोटाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।