काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सातौं चरण खेल्न युएई भ्रमणमा रहेको नेपाल दोस्रो अभ्यास खेलमा विजयी भएको छ। आइतबार दुबईमा भएको अभ्यास खेलमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको हो।
नर्सरी ओभलमा भएको खेलमा केन्याले दिएको १ सय ११ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा शरद भेषावकरले नटआउट ३१ तथा आरिफ शेखले नटआउट ४ रन जोडे। ओपनिङमा आएका भेषावकरले ५० बल खेलेर ३ चौका प्रहार गरे।
त्यसअघि खराब ओपनिङ गरेको नेपालले ओपनर दिलीप नाथलाई शून्य तथा सागर पुनलाई १ रनमै गुमायो। अनिलकुमार साह पनि १३ रनमा आउट भएपछि नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदा २९ रन जोडेको थियो। तर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेर नेपाललाई जिततर्फ अघि बढाए। दीपेन्द्रले ४६ रन जोडे। उनले ३५ बलको सामना गर्दा ७ चौका र १ छक्का हिर्काए। उनले शरदसँग चौथो विकेटका लागि ७८ रनको साझेदारी गरे।
बलिङतर्फ केन्याका नेल्सन ओडिम्बोले २ विकेट लिए।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको केन्या ३२.२ ओभरमा १ सय १० रनमा अलआउट भयो। पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेको केन्याका मध्यक्रमका ब्याट्सम्यान सस्तैमा आउट भए। ओपनरद्वय रुसब पटेलले २७ तथा ओबान्डाले २५ रनको जोडे। गुरदिप सिंहले २२ तथा नेल्सन ओडिम्बोले १० रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
केन्यालाई सस्तैमा रोक्ने क्रममा नेपालका ललितसिंह भन्डारीले ४ विकेट लिए। उनले १० ओभरमा ४६ रन खर्चिदा १ मेडन राखे। सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी, सागर पुन र आरिफ शेखले समान १–१ विकेट लिए।

खेलमा नियमित कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ललाई आराम दिइएको थियो।
यसअघि नेपाल पहिलो अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको थियो।
डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीच मंसिर २० र २२ गते प्रतिस्पर्धा हुनेछ। खेल आबुधावीको शेख जायेद रंगशालामा हुनेछ।
डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। त्यसैले अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन्।
डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चार भित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।
तस्बिरहरु : रमन शिवाकोटी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।