चितवन– माओवादी केन्द्रले चितवनको माडीस्थित बाँदरमुढे घटनाका पीडितहरुसँग सम्झौता गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पीडितहरुसँग माडीमा तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
अध्यक्ष दाहालले माडी नगरपालिकाको रोहवरमा घटनाका पीडित २९ जनाका बीचमा सम्झौता गरेका छन्। माडीको सभामा पुग्दा पीडितहरुले दाहाललाई स्वागत गरेका थिए।
सम्झौताको पहिलो बुँदामा मृतकका परिवारलाई काम गर्न सक्नेलाई रोजगारी, नसक्नेका लागि जीवनवृत्ति र बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने उल्लेख छ।
त्यस्तै, घाइतेको औषधोपचारको व्यवस्था पनि गर्ने र तेस्रो बुँदामा घटनामा ज्यान गुमाएकाको सम्झनामा १० बिगाहा क्षेत्रमा पार्क बनाउने सम्झौता भएको छ। पार्कलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने उल्लेख गरिएको छ।
सम्झौतापत्रमा माओवादी केन्द्रका तर्फवाट माओवादी अध्यक्ष दाहाल र पीडितहरुको तर्फबाट पाँच जनाले हस्ताक्षर गरेका थिए। अध्यक्ष दाहालले पीडितहरुलाई सम्झौता पूर्णरुपमा पालना हुने विश्वास दिलाएका थिए।
पीडितहरुले घटना गराउनेबाटै मल्हम खोज्दै आफूहरुले सम्झौता गरेको भन्दै पालना हुनेमा ढुक्क रहेको बताएका छन्।
०६२ जेठ २३ मा तत्कालीन माओवादी विद्रोहीले माडीको बाँदरमुढे खोलामा थापेको विद्युतीय धरापमा यात्रुबस पर्दा ४३ जनाले ज्यान गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।