कोरियाका आगलागीपीडितलाई नेपालीले गरे सहयोग

नेपाल लाइभ | २०७६ बैशाख २६ बिहीबार | Thursday, May 09, 2019 १०:५८:०० मा प्रकाशित

साेल- दक्षिण कोरियामा रहेका नेपालीहरुले गत महिना यहाँ भएको भिषण आगलागीपीडितका लागि संकलन गरिएको राहत कानुन मन्त्रालयमार्फत बुधबार हस्तान्तरण गरेका छन्।

गत महिना कोरियाको खाङ्वान्दो सहरमा भएको भिषण आगलागीका कारण १ सय २५ घरमा क्षति पुगेको थियो भने मानवीय क्षति समेत भएको थियो। सोही घटनाका पीडित वृद्धवृद्धा तथा अशक्तहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले संकलन गरिएको ३२ लाख ७७ हजार वन हस्तान्तरण गरिएको संयोजक राजु क्षेत्रीले जानकारी दिए।  

संकलित रकम बुझ्दै कोरियाको कानुन मन्त्रालयका निर्देशक विएई जंगले नेपालीहरुको सहयोगी भावनाको खुलेर प्रशंसा गरेका थिए। निर्देशक जंगले नेपालीहरु जति मेहनती छन्, त्यत्ति नै सामाजिक पनि भन्दै उक्त सहयोगले नेपाली र कोरियाली नागरिकहरुबीच भावनात्मक सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे।

हस्तान्तरण कार्यक्रममा यहाँ क्रियाशिल एनसिसी, एनआरएन, भलिबल संघ, गुल्मी सम्पर्क समिति लगायतका नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेकाे थियो।