काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी)ले रियो ओलम्पिक २०१६ मा सहभागी सात खेलाडीलाई प्रतियोगिता सकिएको १६ महिनापछि नगदसहित सम्मान गरेको छ।एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार उनीहरुलाई जनही १ हजार अमेरिकी डलर प्रदान गर्दै सम्मान गरेका हुन्।
ब्राजिलको रियो दि जेनेरियोमा गत वर्षको अगष्ट ५ देखि २१ सम्म भएको ओलम्पिकमा नेपालबाट आर्चरीका जितबहादुर मोक्तान, एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई, जुडोकी फुपु ल्हामु खत्री, पौडीका शिरिष गुरुङ र गौरिका सिंह तथा तेक्वान्दोकी निशा रावलले सहभागीता जनाएका थिए । गौरिका भने कार्यक्रममा उपस्थित थिइनन् । उनी परिवारसंगै लन्डनमा बस्दै आएकी छन्।
पौडीकी गौरिका सिंह रियो ओलम्पिकमा सहभागी मध्ये कान्छी खेलाडी बनेकी थिइन । त्यत्तिबेला उनी १३ बर्षकी थिइन् । त्यसैगरी रियो ओलम्पिकमा जुडोकी फुपुले ओलम्पिकको उद्घाटन सत्रको मार्च पार्समा नेपाली झन्डा बोक्ने अवसर पाएकी थिइन् ।
आर्चरीको पुरुष व्यक्तिगततर्फ जितबहादुर मोक्तान सहभागी भएका थिए । एथलेटिक्समा पुरुष ५ हजार मिटेरमा हरि र महिलाको १५ सय मिटरमा सरस्वतीको सहभागिता थियो । सरस्वतीले आ–आफ्नो स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
त्यसैगरी जुडोतर्फ फुपुले महिला ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । पौडीमा शिरीषले पुरुष १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए उनले ५७.७६ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ कीर्तिमान रचेका थिए । गौरिकाले महिला १ सय मिटर ब्याकस्ट्रोकतर्फ प्रतिस्पर्धा गरेकी थिइन्। तेक्वान्दोबाट निशाले महिला ६७ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी सातौं स्थानमा आएकी थिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।