झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको वाम गठबन्धनका प्रत्यक्षतर्फका उम्मेदवार हुन्, नेकपा एमालेका एलपी साँवा। उनी यतिबेला मत माग्न निकै व्यस्त छन्। नेपाली कांग्रेसका देउकुमार थेवेसँग प्रतिस्पर्धामा रहेका साँवा ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा २ सय ४० मतको झिनो अन्तरले पराजित भएका थिए। त्यति बेला उनलाई नेपाली कांग्रेसका केशवकुमार बुढाथोकीले हराएका थिए।
यसपालि क्षेत्र नम्बर ४ मा १ लाख ९ हजार ३ सय ९१ मतदाता रहेका छन्। स्थानीय तहमा खसेको मतलाई विश्लेषण गर्दा वाम गठबन्धनतर्फ ३७ हजार ८ सय ११ मत देखिन्छ भने कांग्रेसको पक्षमा २२ हजार ९ सय ७३ मत छ। झापा ४ मा झापा गाउँपालिका, गौरादह नगरपालिकाको वडा नम्बर ९, गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर १ र २, कन्काई नगरपालिकाको वडा नम्बर १ देखि ७ तथा शिवशताक्षीधाम नगरपालिका छ।
चुनावी सभालाई सम्बोधन गरेर फर्किने क्रममा झापामा भेटिएका साँवासँग नेपाल लाइभका नवीन अर्यालले गरेको कुराकानीः
भोट माग्न कत्तिको सकस भइरहेको छ?
म यहाँको परिचित उम्मेदवार भएकाले खासै समस्या भएको छैन। नियमित कार्यक्रममा व्यस्त छु। दौडधुप छ।
जितप्रति कत्तिको आशावादी हुनुहुन्छ?
यसपाली म पूर्ण आशावादी छु। ०७० सालमा झिनो मतान्तरले हारेँ। यसपछि म जनतासँग निरन्तर सम्पर्कमा छु। उहाँहरूको सुख–दुःखमा हिँडिरहेको छु। वाम गठबन्धनको सर्वसम्मत उम्मेदवार भएकाले गर्दा पनि होला मलाई केही सहज अनुभव भइरहेको छ। अघिल्लो प्रतिस्पर्धाबाट पाठ पनि सिकेको छु।
मत माग्न जाँदा जनताको अपेक्षा के पाउनुभएको छ?
विकास नै मुख्य एजेन्डा हो। उहाँहरूलाई आफ्नो गाउँ–ठाउँको विकास चाहिएको छ। यहाँ नदी कटानको पनि ठूलो समस्या छ। त्यसको निकास चाहिएको छ। समग्रमा भन्नुपर्दा आफ्नो क्षेत्रमा विकास गर्ने नेतृत्व उहाँहरूलाई चाहिएको छ।
वाम गठबन्धनमै पनि केही समस्या देखिएका छन्, कसरी समाधान गर्नुहुन्छ?
खासै ठूलो समस्या छैन। समानुपातिकमा कसरी मत हाल्ने भन्नेमा केही द्विविधा छ। प्रदेशमा पनि आ–आफ्नो पार्टीका उम्मेदवारलाई यसरी मत हाल्नुपर्छ भनेर सम्झाउन समय खर्चिनुपरेको छ। तर, पार्टी निकट भविष्यमा एक हुँदैछ। यो पनि हराउँदै जानेछ।
जनताले तपाईंलाई नै किन मत हाल्ने?
म वाम गठबन्धनको साझा उम्मेदवार हुँ। हाम्रो घोषणापत्रमा देश विकासका लागि आवश्यक र उदाहरणीय एजेन्डाहरू छन्। देश विकासको एजेन्डालाई कार्यान्वयन गराउन सबैले मलाई भोट हाल्नुहुन्छ भन्ने लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।