काठमाडौं– प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन आउन चार दिन बाँकी रहँदा राजनीतिक दलहरुसँग प्रचारका लागि २ दिनको समय छ। १९ गते मध्यरातिदेखि निर्वाचन आयोगले मौन अवधि लागू गरेपछि प्रचारप्रचार गर्न नपाइने भएकाले त्यसअघि नै चुनावी प्रचारमा बढीभन्दा बढी मतदातासम्म पुग्न दल र उम्मेदवारहरुव्यस्त छन्।
दलहरुले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिइरहँदा नेपाली कांग्रेस, वाम गठबन्धन लगायत विभिन्न दलहरु एक–अर्का विरुद्ध आरोप–प्रत्यारोपमा उत्रिरहेका छन्। यस क्रममा दलहरुले आफ्नो एजेन्डा मतदातालाई सुनाउने कुरा त्यति प्राथमिकतामा राखेको देखिँदैन।
चुनावी प्रचारमा कुन दलका नेता कहाँ सक्रिय रहे र कस्ता कुरामा समय खर्चिए? हामीले संक्षेपमा केलाएका छौं-
शेरबहादुर देउवा
विभिन्न जिल्लाको एक साता लामो दौडाहापछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले आफ्नै निर्वाचन क्षेत्र डडेलधुरामा छन्। डडेल्धुरा क्षेत्र नम्बर १ मा देउवा आफ्ना पुरानै प्रतिस्पर्धी माओवादी केन्द्रका नेता खगराज भट्टसँग चुनावी प्रतिस्पर्धा गर्दै छन्।
पार्टी सभापतिको नाताले समग्र पार्टीलाई जिताउने जिम्मेवारी भएकाले देउवा मंसिर १४ गतेसम्म अन्य जिल्लाको चुनावी अभियानमा सक्रिय रहे। १४ गते वीरगञ्जका साथै सिरहा, सर्लाही र सप्तरीमामा सम्बोधन गर्दै लोकतान्त्रिक शक्तिलाई मत दिन आग्रह गरेका थिए। देउवाले पत्नी आरजु राणाको क्षेत्र कैलाली समेत पुगेर मत मागे।
चुनावी सभाहरुमा देउवाले वामपन्थीहरुले चुनाव जिते देशमा अधिनायकवाद आउने भन्दै लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउन आग्रह गरे। सभाकै क्रममा ‘कम्युनिस्टले जिते रुन पनि पाइँदैन’ भन्ने उनको भनाइ निकै चर्चित बन्यो।
केपी शर्मा ओली
वाम गठबन्धनका संयोजकमध्येका एक एमाले अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नै निर्वाचन क्षेत्र झापा पुगेका छन्।
ओलीले काठमाडौंदेखि प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरा र आफ्नै समकक्षी पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवनसम्म पुगेर भोट मागे। काठमाडौं क्षेत्र नम्बर १ को नयाँ बानेश्वरका साथै ललितपुरको सभा हुँदै ओली भोट माग्न मधेसतिर पसे।
काठमाडौंमा राजन भट्टराईदेखि माधव नेपालको क्षेत्रमा भोट मागेर अध्यक्ष ओली गृहजिल्ला पुगेका हुन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा रहेका ओलीलाई कांग्रेस नेता खगेन्द्र अधिकारीले टक्कर दिँदै छन्।
झापामै ओलीले १५ गते राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनको चुनावी सभालाई सम्बोधन गर्न भ्याए । देशभर लोकतान्त्रिक गठबन्धनसँग सहकार्यमा रहेको राप्रपाले झापामा भने वाम गठबन्धनसँग सहकार्य गरेको छ ।
अघिल्लो साता भने पश्चिम नेपालमा केन्द्रित भएका ओलीले एकै दिन सुर्खेत, दैलेख र बैतडी पुगेर वाम गठवन्धनको पक्षमा भोट मागे।
चुनावी सभाहरुमा ओलीले कांग्रेसले लगाइरहेको अधिनायकवाद आउने कुराको खण्डन गर्दै यो चुनावमा वामपन्थीको बहुमत आउने र बलियो सरकार बनाएर देशको समृद्धिमा लाग्ने बताए। नेपालगञ्जको सभामा उनले कसैले ढाल्न र हल्लाउन नसक्ने सरकार बनाउने दाबी गरेका थिए।
पुष्पकमल दाहाल ‘प्रचण्ड’
वाम गठबन्धनका अर्का प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस पटक अघिल्ला निर्वाचनहरुमा जस्तो देश दौडाहामा देखिएनन्।
चितवन क्षेत्र नम्बर ३ मा उठेका प्रचण्ड चितवनमै चुनावी प्रचारमा रहेका बेला छोरा प्रकाशको हृदयघातबाट काठमाडौंमा निधन भएपछि उनी जिल्लाको कार्यक्रममा हिँडेनन्।
चितवन ३ मा लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेसँग चुनावी प्रतिस्पर्धामा रहेका दाहाल यस पटक आफ्नै निर्वाचन क्षेत्रमा बढी केन्द्रित भए। यसपछि उनी काठमाडौं र तराईका केही विशेष सभामा मात्र सहभागी भए।
चुनावी सभाहरुमा दाहालले चुनावपछि वाम गठबन्धनको स्थिर सरकार बन्ने र ५० वर्षसम्म वाम सरकारले नै देश हाँक्ने समेत भन्न भ्याए।
रामचन्द्र पौडेल
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडले पनि पछिल्ला केही दिन पार्टी सभापति शेरबहादुर देउवासँगै निर्वाचन प्रचारमा देखिँदै आफ्नै निर्वाचन क्षेत्र तनहुँ पुगेर प्रचारमा व्यस्त छन्।
मंसिर २१ गते हुने निर्वाचनमा एक पटक सबै मतदाताको घरदैलो पुगेपछि पौडेल सभापति देउवासँग कास्की र मकवानपुरमा चुनावी सभामा सहभागी भएका थिए।
वाम शक्तिले गठबन्धन गरेको र पार्टीभित्र उम्मेदवारी दर्ताको समयमा विवाद भएकाले पौडेल आफ्नै क्षेत्रमा केन्द्रित हुँदै आएका थिए। पौडेलले यस पटक एमालेका केदार सिग्देलसँग प्रतिस्पर्धा गर्दै छन्।
कमल थापा
राप्रपाका अध्यक्ष कमल थापा निर्वाचनमा आफ्नै क्षेत्रमा चुनावी प्रचारमा व्यस्त देखिए।
कांग्रेससँग लोकतान्त्रिक मोर्चामा सहभागी भएर चुनाव लडिरहेको राप्रपाले पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटा पनि टिकट पाएन। दोस्रो चरणको निर्वाचनमा भने राप्रपालाई नेपालगञ्ज र दैलेखमा राप्रपालाई लोकतान्त्रिक मोर्चाले समर्थन गरेको छ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवालाई समेत आफ्नो पक्षमा मत माग्न लगाउँदै थापा यतिबेला गृहजिल्ला मकवानपुरमा घरदैलोमा व्यस्त छन्।
०६४ सालको पहिलो संविधानसभामा पराजित भएका थापा ०७० को निर्वाचनमा समानुपातिकमा बसेका थिए। यस पटक विगतको नजिता उल्टाउँदै आफ्नो पक्षमा नतिजा ल्याउने सुरमा थापा छन्। थापालाई मकवानपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका कृष्णप्रसाद दाहालले टक्कर दिँदै छन्। थापासामु ०४८ सालदेखिकै प्रतिस्पर्धी दाहाललाई पाखा लगाउने चुनौती छ।
गगन थापा
काठमाडौं क्षेत्र नम्बर ४ मा उठेका नेपाली कांग्रेसका युवा नेता गगन थापा एमालेका युवा नेता राजन भट्टराईसँग चुनावी प्रतिस्पर्धामा छन्।
अघिल्लो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थापालाई उक्त क्षेत्र कायम राख्नुपर्ने चुनौती छ भने एमालेका भट्टराई त्यसलाई उल्टाउने दाउमा छन्। वाम गठबन्धनपछिको चुनावी प्रतिस्पर्धा भएकाले कडा टक्कर हुने आकलनका साथ थापा चुनावी अभियानमा छन्।
आफ्नो क्षेत्रको चुनावी प्रचारमा सक्रिय रहेका थापाले झापा क्षेत्र नम्बर १ मा प्रतिस्पर्धामा रहेका अर्का युवा नेता विश्वप्रकाश शर्मालाई सामाजिक सञ्जालबाटै मत मागिरहेका छन्। शर्माले पनि थापाका लागि सामाजिक सञ्जालबाटै मत मागेका छन्। शर्मासँग माओवादीका नेता राम कार्की प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।