काठमाडौं- निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेतले गौचनको कम्पनी डाँफे कन्स्ट्रक्सनमा आफ्नो एक करोड रुपैयाँको सेयर रहेको र सोही रकम फिर्ता नदिएपछि हत्या गरेको प्रहरीसमक्ष बताएका छन्।
बस्नेतलाई प्रहरीले भारतबाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। प्रहरीसमक्ष बस्नेतले गौचनको कम्पनीमा रहेको एक करोड सेयर वापतको रकम र विभिन्न ठेक्काको २० करोडको दुई प्रतिशत कमिसन नदिएपछि हत्या गरेको बताएका छन्।
‘गौचनको कम्पनीमा मेरो पनि एक करोडको सेयर थियो। मैले गौचनसँग उक्त रकम दिन पटकपटक आग्रह गरेँ’, बस्नेतको भनाइ उद्धृत गर्दै एक प्रहरीले भने, ‘तर गौचनले मेरो सेयरको पैसा र विभिन्न सडक निर्माणका क्रममा दिने भनेको २० करोडको दुई प्रतिशत कमिसन रकम नदिएपछि हत्या गर्न लगाएको हुँ।’
गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए।
हत्या लगत्तै मुख्य योजनाकार बस्नेत भारत भागेका थिए। बस्नेत कुनै समय कलंकी, बाफल र कालीमाटी क्षेत्रका ‘टोले गुन्डा’ थिए। निर्माण व्यवसायी महासंघका अध्यक्षको हत्यापछि अन्य व्यवसायीसँग सहजै पैसा असुल्न सक्ने भन्दै बस्नेतले हत्या गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।