नयाँ दिल्ली– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा एक पछि अर्को कीर्तिमान बनाउने क्रम जारी छ।
नयाँ दिल्लीमा भइरहेको श्रीलंका विरुद्धको तेस्रो टेस्टमा कोहली २ सय ४३ रन बनाएर आउट भएका छन्। कोहलीले आउट हुनुअघि २ सय ८७ बलमा २५ चौका प्रहार गरे। कोहलीले टेस्ट क्रिकेट एकै इनिङमा बनाएको यो सबैभन्दा बढी रन हो। यसअघि कोहलीको टेस्ट क्रिकेटमा बढी रन २ सय ३५ थियो।
उनले टेस्ट क्रिकेटमा लगातार दोस्रो पटक दोहोरो शतक बनाएका हुन्। लगातार दोस्रो दोहोरो शतक हान्ने कोहली छैटौं खेलाडी हुन्। लगातार दोहोरो शतक हान्ने उनी दोस्रा भारतीय खेलाडी हुन्। यसअघि सन् १९९३ मा विनोद काम्बलीले जिम्बावेविरुद्ध लगातार दोस्रो खेलमा दोहोरो शतक प्रहार गरेका थिए।
कोहलीले खेलमा सबैभन्दा बढी दोहोरो शतक प्रहार गर्ने कप्तानको रेकर्ड समेत बनाए। विराटले वेस्ट इन्डिजका पूर्वकप्तान ब्राइन लाराको नाममा रहेको पाँच दोहोरो शतकको कीर्तिमानलाई उछिनेका हुन्।
यसअघि कोहलीले शनिबार ५२औं अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए। कोहलीले टेस्ट क्रिकेटमा २० तथा एकदिवसीय क्रिकेटमा ३२ अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्।
कोहलीले टेस्टमा २०औं शतक प्रहार गर्दा टेस्टमा व्यक्तिगत छिटो शतक बनाउन सफल भएका थिए। उनले १ सय १० बलमा १४ चौका प्रहार गरे।
कोहलीले टेस्ट क्रिकेटमा लगातार तेस्रो शतक प्रहार गरेका हुन्। सन् २००२ मा राहुल द्रबिडले लागतार तीन शतक प्रहार गरेपछि भारतीय खेलाडीले लगातार तीन शतक प्रहार गरेको यो पहिलो पटक हो ।
कोहलीले ५२औं शतक प्रहार गर्नुअघि शनिबार नै टेस्ट क्रिकेटमा ५ हजार रन पूरा गरेका थिए। सन् २०११ मा वेस्ट इन्डिज विरुद्धको खेलबाट टेस्ट क्रिकेटमा डेब्यु गरेका कोहलीले ६२ खेलमा १ सय ५ औं इनिङमा ५ हजार रन पूरा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।