मस्को- रुसका विदेशमन्त्री सेर्गेइ लाभराेभ र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओेले भेटवार्ताको तयारी गरेका छन्।
उनीहरूबीच अर्को हप्ता रुसको सोचीमा भेटवार्ता गर्ने तयारी भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। रुसका उप–विदेशमन्त्री इगोर मोर्गुलोभले दिएको जानकारीअनुसार दुवै नेताहरुबीच मे १४ मा भेटवार्ता हुन लागेको हो।
मस्को र वासिङ्टनबीचको छलफलको मुख्य विषय भने उत्तर कोरिया नै रहेको मोर्गुलोभले पत्रकारहरूलाई जानकारी दिए।
उत्तर कोरियाकै विषयमा केही दिन अगाडि मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि टेलिफोन वार्ता भएको थियो।
पुटिन र ट्रम्पको कुराकानीकै आधारमा दुई देशका विदेशमन्त्रीहरूको भेटवार्ता हुन लागेको अधिकारीहरूले बताएका छन्।
उत्तर कोरियासँग विश्व समुदायको सम्बन्ध सुधार हुन लागेको अपेक्षा गरिरहेका बेला उत्तर कोरियाप्रति असन्तुष्टि र आशङ्का जनाउँदै विश्वका दुई ठूला देशका शीर्ष नेताहरूबीच भइरहेका र हुन लागेका छलफललाई महत्वका साथ हेरिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।