पेरिस– फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनमा पहिलो हार बेहोरेको छ। स्टार फरवार्डद्वय नेइमार र इडिन्सन काभानीले चुक्दा पिएसजीलाई स्ट्रासबर्गले २–१ ले पराजित गरेको हो।
पिएसजी पछिल्ला १५ खेलमा अपराजित थियो। पिएसजीले १५ मध्ये १३ खेलमा जित र २ खेलमा बराबरी खेलेको थियो।
१४ मिनेटमा नुडो डा कास्टाले गोल गरेर स्ट्रासबर्गलाई अग्रता दिलाए। ४२ मिनेटमा पिएसजीका केलियन एमबाप्पेले बराबरी गोल फर्काए। तर स्टेफिन बाहोकेनले ६५ मिनेटमा गोल गरेर स्ट्रासबर्गलाई दोस्रो पटक अग्रता दिलाए।
जितपछि स्ट्रासबर्ग रेलिगेशन क्षेत्र छोड्न सफल भएको छ। १६ खेलबाट १८ अंक जोडेको स्ट्रासबर्ग १६ औं स्थानमा उक्लिएको छ।
शीर्ष स्थानको पिएसजी १६ खेलबाट ४१ अंक जोडेको छ। दोस्रो स्थानको साबिक विजेता मोनाकोको ३२ अंक छ भने तेस्रो स्थानको मार्सेलीको ३१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।