म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई ३–१ ले पराजित गरेको छ। शनिबार राति भएको खेलमा एन्टोनियो भ्यालेन्सियाले चौथो मिनेटमा गोल गरेर युनाइटेडलाई सुरुवाती अग्रता दिलाए।
११ मिनेटमा जेसे लिङगार्डले युनाइटेडको अग्रता दोब्बर पारे। ४९ मिनेटमा आर्सनलका लाकाजेटीले गोल गर्दै युनाइटेडको अग्रता २–१ ले झारे। लिङगार्डले ६३ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेड ३–१ ले अघि बढ्यो।
७४ मिनेटमा युनाइटेड १० खेलाडीमा सीमित बन्यो। डरलाग्दो ट्याकल गरेपछि पाउल पोग्बालाई सिधा रातो कार्ड पाए। फ्रेन्च मिडफिल्डर पोग्बाले अब म्यानचेस्टर सिटी विरुद्धको खेल गुमाउने छन्।
लिगका अर्को खेलमा लिभरपुलले ब्रिङ्टनलाई ५–१ ले पराजित गरेको छ। लिभरपुलको जितमा इम्रे क्यान र काउन्टिन्होले १–१ गोल गर्दा फिर्मिनोले २ गोल गरे। लिभरपुलले एक गोल उपहारको रुपमा पाएको थियो।
टोटनह्याम भने वाटफोर्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ।
लिगमा म्यानचेस्टर सिटी १४ खेलबाट ४० अंक जोड्दै शीर्ष स्थानमा छ। एक खेल बढी खेलेको युनाइटेड ३५ अंक सहित दोस्रो स्थानमा छ। तेस्रो स्थानको चेल्सीको ३२, चौथो स्थानको लिभरपुलको २९ र पाँचौ स्थानको आर्सनलको २८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।