रौतहट– दोस्रो चरणमा हुने मंसिर २१ को प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि रौतहटमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले प्रचारप्रसार तीव्र बनाएका छन्।
प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ८ निर्वाचन क्षेत्र रहेको रौतहटमा मुख्यगरी वाम गठबन्धन, नेपाली कांग्रेस र राजपा नेपालबीच प्रतिस्पर्धा देखिन्छ।
प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका जिल्ला सभापति कृष्णप्रसाद यादव, वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता एवं पूर्वराज्यमन्त्री सत्यनारायण भगत र राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको गठबन्धनबाट राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा चुनावी प्रतिस्पर्धामा छन्। नेपाली जनता दलका केन्द्रीय अध्यक्ष हरिचरण साह र स्वतन्त्रबाट पूर्व सभासद बबन सिंहले पनि रौतहट १ मा उम्मेदवारी दिएका छन्।
रापपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले मधेसीको आन्दोलनलाई जारी राख्न, मधेश प्रदेश बनाउन राजपाले मत मागिरहेको बताएका छन्।
त्यस्तै, क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाका लागि कांग्रेसबाट पूर्वमन्त्री मोहम्मद आफताब आलम, वाम गठबन्धनबाट एमालेका पूर्वराज्यमन्त्री मुस्ताक आलम, राजपा–फोरम गठबन्धनबाट फोरमका किरणकुमार साह चुनावी मैदानमा छन्।
रौतहटको क्षेत्र नम्बर–३ बाट वाम गठबन्धनले बिना विभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता प्रभु साहलाई उम्मेदवार बनाएको छ। कांग्रेसले पूर्वसांसद सुनिलकुमार यादव र राजपा गठबन्धनबाट व्यापारी पुष्ठभूमिका ओमप्रकाश जयसवाल चुनावी प्रतिस्पर्धामा छन्।
रौतहटको क्षेत्र नम्बर ४ बाट कांग्रेसका देवप्रसाद तिमल्सिना, वाम गठबन्धनबाट एमलेका डा वंशीधर मिश्र र फोरम–राजपा गठबन्धनका कन्थमणी जयसवाल उठेका छन्।
रौतहटको चार वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि दुई सय ३५ जनाको उम्मेदवारी छ।
प्रमुख दलका उम्मेदवारहरु घरदैलो र सभाहरुमा व्यस्त बनेका छन्। त्रीपक्षीय भिडन्तका कारण रौतहटमा कसले बाजी मार्ला भन्ने अनुमान गर्न निकै कठिन भएको यहाँका वुद्धिजीवीहरु बताउँछन्। चुनाव नजिकिँदै जाँदा मतदातालाई आफ्नो पक्षमा पार्न तीन शक्तिकै नेताहरु सबै उपाय अपनाउने चक्करमा रहेको स्थानीयहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।