गाईघाट- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बमले आतंकित पार्न खोज्दैमा चुनाव कुनै पनि हालतमा नरोकिने बताएका छन्।
उदयपुरको सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तीन करोड नेपाली जनताले चाहेको चुनाव दुई/चार वटा बम पड्कँदैमा नरोकिने बताए।
जनताको चाहना र निर्वाचनमार्फत नयाँ सरकार गठन गरेर देशलाई नयाँ बाटोमा लैजाने काममा कसैले पनि खेलवाड नगर्न अध्यक्ष ओलीले चेतावनी समेत दिए।
अध्यक्ष ओलीले स्थिर सरकारमार्फत देशलाई राजनीतिक संक्रमणबाट मुक्त गर्ने उद्देश्यले एमाले र माओवादी केन्द्रले चुनावी एकता गरेको बताउँदै अब बन्ने वाम सरकारले मुलुकलाई सुशासन र स्थिरता दिने दाबी समेत गरे।
'एकचोटि वाम गठबन्धनलाई जिताएर दुई वर्ष हेर्नुस्, विकास कसरी हुन्छ, हामीले गरेर देखाइदिन्छौं।'
अध्यक्ष ओलीले पूर्व–पश्चिम राजमार्ग ६ लेन बनाउने, पूर्व–पश्चिम रेल्वे सञ्चालन गर्ने, उद्योगधन्दा सञ्चालन र युवा स्वरोजगारमार्फत वामपन्थी सरकारले मुलुकमा विकासको कायापलट गर्ने दाबी गरे।
सभालाई वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ का उम्मेदवार मञ्जुकुमारी चौधरी, प्रदेशसभाका उम्मेदवार रामबहादुर थापा, विमल कार्की, नारायण बुर्जालगायतले सम्बोधन गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।