रौतहट– काठमाडौं २ को चुनावी अभियानबाट समय निकालेर रौतहट आएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक समय आफैंलाई हराएका नेताको पक्षमा भोट मागेका छन्।
शुक्रबार मध्याह्न अचानक रौतहट आएका नेता नेपालले क्षेत्र नम्बर ४ को चन्द्रपुर नगरपालिकाको बडेर्वा टोलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ०६४ सालको संविधानसभा निर्वाचनमा आफूलाई हराउने नेताको पक्षमा भोट मागेका हुन्।
नेता नेपाल वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पटेलका लागि भोट माग्न रौतहट आएका थिए। पटेल रौतहट ४ को प्रदेश क बाट उम्मेदवार बनेका छन्।
सो क्षेत्रबाट प्रतिनिधिसभामा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व राज्यमन्त्री डा वंशीधर मिश्र उम्मेदवार छन्।
नेता नेपालले सभालाई सम्बोधन गर्दै वाम गठबन्धनका उम्मेदवार मिश्र र पटेललाई जिताएर पठाउन मतदातासँग आग्रह गरे।
एमाले नेता नेपाल ०६४ को संविधानसभाको निर्वाचनमा हाल ४ नम्बर क्षेत्र तथा साविकको ६ नम्बर क्षेत्रबाट पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।