गाईघाट- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर १ मा दुई पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुँदै छ।
नेपाली कांग्रेसबाट उम्मेदवार भएका पूर्वशहरी विकासमन्त्री डा. नारायण खड्का र वाम गठबन्धनबाट उम्मेदवार बनेकी एमालेकी वैकल्पिक केन्द्रीय सदस्य एवं पूर्वशहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरी मैदानमा छन्।
०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर विजय हासिल गर्दै आएका कांग्रेसका केन्द्रीय सदस्य खड्कालाई यस पटकको वाम गठबन्धनले खासै प्रभाव नपर्ने स्वतन्त्र बुद्धिजीवी हीरामान मोते बताउँछन्।
अर्का बुद्धिजीवी तथा पूर्वशिक्षक विष्णुप्रसाद कोइराला पनि डा. खड्काले जितको निरन्तरता कायम राख्दै यस पटक पनि चुनावमा अत्यधिक मतले जित हात पार्ने बताए।
डा खड्काले जिल्लामा धेरै काम गरिसकेको भन्दै कोइरालाले थपे, 'उहाँ स्थापित भइसकेको नेता हुनाले पनि वाम गठबन्धनको जस्तोसुकै हावाहुरी आए पनि खड्काले धेरै मत प्राप्त गरेर जित हात पार्ने देखिन्छ।'
यता वाम गठबन्धनका उम्मेदवार चौधरीले गठबन्धनको मत कांग्रेसभन्दा धेरै रहेको र शहरी विकास राज्यमन्त्री हुँदा नौ महिनाको अवधिमा धेरै विकासका योजना सञ्चालन गरेकाले पनि चुनावमा खड्कालाई हराउन सक्ने धारणा अर्का स्वतन्त्र बुद्धिजीवी तथा प्राध्यापक रमेश रोकाको छ।
राजनीतिक विश्लेषकहरु भने अहिलेको अवस्था हेर्दा दुवै उम्मेदवार बलियो देखिएकाले कडा प्रतिस्पर्धा हुने आकलन गर्छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।