कपिलवस्तु- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ।
वाम गठबन्धनले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको पकडी पुगेका अध्यक्ष दाहालले सभामा सम्बोधन सकेलगत्तै ठूलो आवाजका साथ विस्फोट भएको थियो।
सभा समापन भइसकेकाले विस्फोटबाट भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ। विस्फोटको आवाजसँगै सभामा आएका सर्वसाधारणको भागाभाग भएको थियो। दाहालले सम्बोधन गरेको मञ्चबाट करिब एक सय मिटरको दूरीमा विस्फोट भएको हो। घटनास्थललाई नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेको छ।
मतदानको दिन नजिकिँदै गर्दा कपिलवस्तुमा बम विस्फोटका घटना बढ्न थालेको छ। शुक्रबार मात्रै जिल्लाका विभिन्न तीन स्थानमा बम विस्फोट भएको थियो।
जिल्लामा थप बम विस्फोटका घटना हुन नदिन र मतदान प्रक्रिया भयरहित वातावारणमा सम्पन्न गराउन जिल्लाका तीन वटै सुरक्षा निकायलाई व्यापक परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।