काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी अभियानमा सहभागी भएका छन्।
नेता नेपालसहित वाम गठबन्धनका उम्मेदवारलाई मत माग्न दाहाल शनिबार पेप्सीकोला क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा पुगेका हुन्। यसका लागि उनी शुक्रबार चितवनमा आफ्नो निर्वाचन कार्यक्रम छोट्याएर काठमाडौं आएका थिए।
अध्यक्ष दाहाल र नेता नेपालले पेप्सीकोला क्षेत्रमा करिब दुई घन्टा घरदैलोमा सहभागी हुँदै स्थानीयसँग मत मागे।
घरदैलोपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहाललले नेता नेपालको चुनावी कार्यक्रममा सहभागी भएर मत माग्न पाएकोमा खुसी व्यक्त गरे। उनले वाम गठबन्धनका पक्षमा खुलेर भोट हाल्न मतदातासँग अपिल समेत गरे।
'यस क्षेत्रका लागि मात्र होइन, नेपालको राजनीतिका लागि पनि आवश्यक व्यक्ति हुनुहुन्छ माधव नेपाल', दाहालले भने, 'यस्तो व्यक्ति तपाईंहरुले प्राप्त गर्नुभएको छ, यो तपाईंहरुको पनि गौरवको कुरा हो।'
सभालाई सम्बोधन गर्दै नेता नेपालले फड्को हानेर राजनीतिलाई निर्णायक मोड दिन सक्ने क्षमताको व्यक्ति प्रचण्डलाई चुनावी सभामा सँगै पाउँदा आफूलाई खुसी लागेको बताए।
उनले भने, 'हामी दुई फरकफरक आन्दोलनका प्रतीक हौं, अहिले एकै ठाउँ उभिएका छौं।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।