नयाँ दिल्ली– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ५२औं अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्। नयाँ दिल्लीमा शनिबार सुरु भएको श्रीलंका विरुद्धको तेस्रो टेस्टमा कोहलीले शतक प्रहार गर्दै अन्तर्राष्ट्रिय शतक संख्या ५२ पुर्याएका हुन्।
कोहलीको यो टेस्ट क्रिकेटमा २०औं शतक हो। कोहलीले एकदिवसीय क्रिकेटमा ३२ अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्।
कोहलीले टेस्टमा २०औं शतक प्रहार गर्दा टेस्टमा व्यक्तिगत छिटो शतक बनाउन सफल भए। उनले १ सय १० बलमा १४ चौका प्रहार गरे।
कोहलीले टेस्ट क्रिकेटमा लगातार तेस्रो शतक प्रहार गरेका हुन्। सन् २००२ मा राहुल द्रबिडले लागतार तीन शतक प्रहार गरेपछि भारतीय खेलाडीले लगातार तीन शतक प्रहार गरेको यो पहिलो पटक हो ।
कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा बढी शतक बनाउने खेलाडीको सूचीमा आठौं नम्बरमा छन्। सचिन तेन्दुल्करले सय शतक, रिकी पोन्टिङले ७१, कुमार सांगाकाराले ६३, ज्याक कालिसले ६२, माहेला जयवर्दनेले ५४, हासिम अम्लाले ५४ र ब्रायन लाराले ५३ अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्।
कोहलीले ५२औं शतक प्रहार गर्नुअघि शनिबार नै टेस्ट क्रिकेटमा ५ हजार रन पूरा गरेका थिए। सन् २०११ मा वेस्ट इन्डिज विरुद्धको खेलबाट टेस्ट क्रिकेटमा डेब्यु गरेका कोहलीले ६२ खेलमा १ सय ५ औं इनिङमा ५ हजार रन पूरा गरेका हुन्। उनले श्रीलंकाविरुद्ध २९ रन प्रहार गरेपछि पाँच हजार रन पूरा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।