डडेल्धुरा– डडेल्धुरामा दुर्गम क्षेत्रका मतदान केन्द्रहरुमा शनिबार मतदान अधिकृतहरु खटाइएको छ।
११७ मतदान केन्द्रमध्ये टाढाका केन्द्रमा १ सय १७ मतदान अधिकृत र त्यति नै संख्यामा सहायक मतदान अधिकृतलाई निर्वाचन सामग्रीसहित पठाइएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ।
भौगोलिक रुपमा टाढा रहेका जिल्लाका परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा शनिबार बिहान मतदान सामग्रीसहित कर्मचारी पठाइएको कार्यालयका सूचना अधिकृत दिलिप तामाङले जानकारी दिए। अन्य स्थानमा १७ र १८ गते कर्मचारी पुगिसक्ने उनले बताए।
निर्वाचनका लागि जिल्लामा ९ सय २७ निजामती कर्मचारी खटाइने जनाइएको छ।
यस्तै, निर्वाचन सुरक्षाका लागि करिब १५ सय सुरक्षाकर्मी परिचालन गर्ने जिल्ला सुरक्षा समितिको तयारी छ। ५ सय ३० नेपाल प्रहरी, ६ सय ६० म्यादी प्रहरी र २ सय ९० जना सशस्त्र प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए।
प्रतिनिधिसभाका लागि १ र प्रदेशसभा सदस्यका लागि २ निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ८१ हजार ७ सय ३२ मतदाता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।