काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले सहमहामन्त्री समेत रहेका उद्योग राज्यमन्त्री रेशम लामालाई कारबाहीको तयारी गरेको छ। कमल थापा नेतृत्वको राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनको झापा क्षेत्र नम्बर ३ को चुनावी सभामा सहभागी भएको भन्दै राप्रपा प्रजातान्त्रिकले सहमहामन्त्री लामालाई कारबाहीको तयारी गरेको हो।
राप्रपा विभाजनमा सक्रिय भूमिका खेलेका लामाले झापाको चुनावी सभामा सहभागी भएर लिङ्देनलाई समर्थन गरेको भन्दै पार्टीले स्पष्टीकरण सोध्ने भएको छ। राप्रपा महामन्त्री लिङ्देनको समर्थनमा एमाले अध्यक्ष केपी ओली सहभागी भएको कार्यक्रममा लामाले समेत सहभागिता जनाएका थिए। पार्टी स्रोतका अनुसार लामालाई स्पष्टीकरण सोधेर कारबाहीको तयारी गरिएको छ।
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्सेर राणाले पार्टीको निति विपरीतका गतिविधि किन गरेको भनी लामालाई स्पष्टीकरण सोधिने बताए। राणाले भने, 'वहाँकाे जवाफपछि कारबाहीकाे निर्णय हुन्छ।'
लामाले लोकतान्त्रिक गठबन्धन विरुद्ध गृह जिल्ला काभ्रेमा राप्रपा प्रजातान्त्रिकबाट उम्मेदवार खडा गरेका थिए। राप्रपा प्रजातान्त्रिक कंग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सामेल हुँदै चुनावी मैदानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।