काठमाडाैं- एनएमबी बैंकले वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई उद्यम सञ्चालनका लागि १० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने भएको छ।
वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई स्वदेशकै रोजगारीको अवसर सृजना हुने गरी उद्यम सञ्चालनका लागि एनएमबी बैंकले १० लाखसम्म ऋणमा कर्जा प्रवाह गर्ने भएको हो। मंगलबार काठमाडौंमा सो बैंक, राष्ट्रिय युवा परिषद् र रिटर्नी माइग्रेन्ट नेपालबीच वैदेशिक रोजगारीमा गएका दक्ष युवाहरुलाई स्वदेशमै उद्योग सञ्चालनका लागि १० लाखसम्म कर्जा प्रवारह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
विदेशमा दुःखकष्ट भोग्दै काम गर्न विवश युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न १० लाखसम्म कर्जा प्रवाह गर्ने समझदारी गरिएको एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानले जानकारी दिए। बैंकले तत्कालका लागि परियोजना धितोमा १ अर्बसम्म ऋण प्रवाह गर्ने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ।
अध्यक्ष गोल्यानले सो कर्जा माग र आवश्यकताको आधारमा थप गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे। वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई उनीहरुले सिकेको सीपको आधारमा उद्योगमा लगानी गर्न सो कर्जा प्रवाह हुनेछ।
समझदारीअनुसार ती युवाहरुलाई राष्ट्रिय युवा परिषद्, एनएमबी बैंक र रिटर्नी माइग्रेन्ट नेपालले उद्यम सञ्चालनका लागि आवश्यक तालिम पनि दिनेछ। स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवाहरुलाई उत्पादनको काममा जोड्न सो कर्जा प्रवाह कार्यक्रम सञ्चालन गर्ने समझदारी गरिएको पनि एनएमबी बैंकका अध्यक्ष गोल्यानले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।