कराँची– पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) का कारण अर्बौं घाटा बेहोर्नुपरेको भन्दै उजुरी दिएको छ। पिसिबीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) मा घाटा बेहोरेको रकम दाबी गर्दै उजुरी दर्ता गराएको हो।
पिबिसीले नोभेम्बर २०१४ र डिसेम्बर २०१५ मा भारत र पाकिस्तानबीच तय भएको क्रिकेट सिरिज हुन नसक्दा घाटा भएको दाबी गरेको हो। क्रिकेट सिरिज हुन नसक्दा ७ करोड मिलियन अमेरिकी डलर (७ अर्ब १७ करोड रुपैयाँ) घाटा भएको भन्दै पिबिसीले सोही रकम बराबरको क्षतिपूर्ति मागेको हो। भारतका कारण सिरिज हुन नसकेको पिसिबीको दाबी छ। सम्झौतामा हस्ताक्षर गरे पनि बिसिसीआईले काम नगरेकाले घाटा पुगेको पिसिबीको उजुरीमा उल्लेख छ।
दुई देशबीच पछिल्लो पटक सन् २०१२ को डिसेम्बरमा एकदिवसीय सिरिज भएको थियो। खेल भारतमा भएको थियो। त्यसयता दुई देशबीच सिरिज हुन सकेको छैन। यद्यपि दुई देशबीच अन्तर्राष्ट्रिय प्रतियोगितामा भने प्रतिस्पर्धा भएका छन्।
पिबिसीले क्षतिपूर्ति दाबी गरेपछि आइसिसीको स्वतन्त्र कमिटीले समस्या समाधानका लागि छलफल अघि बढाएको छ। आइसिसीले पिसिबी र बिसिसिआईसँग छुट्टाछुट्टै छलफल गरेर सामाधान खोज्ने प्रयास गरिरहेको छ। यद्यपि दुवै पक्षले एक-अर्कालाई आरोप लगाएकाले विवाद बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।