एजेन्सी- धर्तीमा पड्किएको बमको ध्वनि जब कानमा पर्छ सिरियालीको ज्यान जोगाउने संघर्ष सुरु हुन्छ। बारुदको हमलाबाट ज्यान जोगाउँदै भागेर लेबनन र जोडर्न आए पनि उनीहरुमा बाँच्ने आश रतिभर छैन, प्यासले कतिबेला जीवन समाप्त हुन्छ भन्ने त्रासमा छन् उनीहरु।
२७ वर्षीय फहिद हस्याङफस्याङ गर्दै गैरकानुनी रुपमा श्रीमती र सन्तानसहित जोर्डन छिर्ने तयारीमा छन्। यात्राका दौरान छोरीले पटक-पटक पानी माग्छिन्। छोरीको प्यास मेटाउन पुग्ने पानी उनीसँग छैन, बढो नियन्त्रित ढंगबाट पानी पिलाउँछन्, सानो बोतलमा रहेको पानी सकिन्छ। बारुद हमलाबाट ज्यान जोगाएका फैदका परिवारको दुश्मन अब 'पानीको तिर्खा' बनेको छ। कति दिन प्याक-प्याक पर्नुपर्ने हो कुनै ठेगान छैन, उनीहरु पानीको असाध्यै अभाव रहेको क्षेत्रमा प्रवेश गरिसकेका छन्।

'ज्यान जोगाउन क्याम्पबाट भागेर आयौँ, बमबाट अब ज्यान नजानेमा ढुक्क छु। तर, बोकेको अलिकति पानी सकिएको छ, प्यासले कतिबेला प्राण जान्छ त्यो थाहा छैन।' पानी मागिरहेकी छोरीलाई देखाउँदै फैद दु:ख बेसाउँछन्।
ज्यान जोगाउँदै जोर्डनको मरुभूमीमा आइपुगेका सिरियाली शरणार्थी कैयौँ दिनदेखि घाँटी-मुख सुकाएर बसेका छन्। अल अजराक शरणार्थी क्याम्पमा एक संस्थाले उनीहरुलाई पानी बाँढ्ने प्रयास गरिरहेको छ, तर क्याम्पमा खानेपानी पर्याप्त वितरण हुन सकेको छैन।
मध्यपूर्वी क्षेत्र अहिले पानी अभावले आक्रान्त छ। विश्वको जनसंख्यामा मध्यपूर्वी क्षेत्रले ६ दशलमब ३ प्रतिशत हिस्सा ओगटेको छ। पर्यावरणीय क्षेत्रमा काम गर्ने संस्था इकोनिमाका अनुसार मध्यपूर्वी क्षेत्रको जनसंख्या मध्ये १ दशमलब ४ प्रतशित मात्रै खानेपानीको पहुँचमा छन्। मध्यपूर्वी राष्ट्रका चार करोड ५० लाख जनसंख्या खानेपानी अभावको चपेटामा परेको तथ्यांक छ। यसको सबैभन्दा बढी मार सिरियाली शरणार्थीले खेपेका छन्।

युद्ध सुरु भएसँगै ५० लाख सिरियाली ज्यान जोगाउन वरपरका विभिन्न राष्ट्रमा भागेका छन्। मध्यपूर्वी राष्ट्रमा खानेपानीको अभाव हुनुमा सिरियाको संकट दोषी रहेको छिमेकी राष्ट्रहरुले बताइरहेका छन्।
पछिल्लो तथ्यांक अनुसार जोर्डनमा १४ लाख सिरियाली शरणार्थी छन् भने लेबननमा १५ लाखले शरण लिएका छन्। दुवै राष्ट्रमा खानेपानीको अभाव छ। ती राष्ट्रमा बर्सेनि खानेपानीको माग २२ देखि २८ प्रतिशतले वृद्धि भइरहेको छ।
कति पाउँछन् सिरियाली शरणार्थीले पानी?
सिरियाली शरणार्थीको शिविरमा काम गरिरहेको संस्था अक्सफामका अनुसार शिविरमा खानेपानी प्रतिदिन ३५ लिटर मात्र उपलब्ध हुन्छ। 'पर्याप्त खानेपानी उपलब्ध नभएपछि सिरियाली शरणार्थी खानलाई अयोग्य पानी पिउन वाध्य छन,' इस्लामिक सहायता संस्थाका प्रतिनिधि मोहम्मद साकिर भन्छन्।

लेबननमा रहेको सिरियाली शरणार्थी शिविर वरपर बग्ने स-साना खोला विषादी र ढल मिसिएका कारण प्रदुषित छन्। 'पानी यति प्रदुषित छ, त्यो पानीले माझेका भाडा समेत खाना पकाउनका लागि योग्य भएनन्,' आफूले माझेका भाँडामा भरिएको खिया देखाउँदै सहातिला शिविरमा रहेकी सिरियाली महिलाले भनिन्।
आफूसँग अलेलि पैसा भएका शरणार्थी तिर्खा मेटाउन पानी पाइने स्थानमा बसाइ सर्छन्। गरिब शरणार्थीहरु बाली भित्र्याउने समयमा गाउँतिर पस्छन्, काम गर्छन् अनि कुलो र इनारको पानीले प्यास मेटाउँछन्। खेतमा काम गरेर अलिकति पैसा जम्मा गर्छन् र फेरि पुरानै शिविरमा फर्किन्छन्।

खानेपानीको संकट बढ्दै गएपछि लेबन र जोर्डनले बेलाबखत सिरियाली शरणार्थीलाई अन्त खेद्छन्। सलहाम सांस्कृतिक संग्राहलयकी संस्थापक रिता जहिद भन्छिन्, 'जोर्डनमा पानीको समस्या बढ्दै गएपछि कतिपयलाई दक्षिण अमेरिकातिर खेदिएको पनि छ।'
बम हमलाबाट ज्यान जोगाएर छिमेकी देशमा शरण लिन वाध्य हजारौं सिरियालीको अपिल छ, 'सहयोगी संस्थाहरुले खानेपानीको समस्या टारिदिउन्। बारुदको गोलाबारीबाट ज्यान बचाएकाहरु प्यासले मर्नु नपरोस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।