काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आगामी अगस्टमा इन्डोनेसियाको जाकार्तामा हुने १८ औं एसियाली खेलकुदमा विगतको रेकर्ड, सम्भावना बोकेको खेल र सफलता हात पार्ने आधार भएका खेललाई प्राथमिकतामा राख्ने बताएको छ।
कमिटीले बिहिबार पत्रकार सम्मेलन गर्दै विगतका एसियाडमा झै सहभागितालाई मात्र केन्द्रित नगरी टिम तयारीको विषयमा ढंगले संलग्नता जनाउने बताएको छ। कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले देशको खेलकुद क्षेत्रको विकासका लागि नयाँ ढंगले अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।
‘यो पटक विशेष ढंगलले तयारी गरी परिणामुखी बनाउने छौं । खेलाडी सहभागिता गराउन चाहने संघले कस्तो परिणाम प्राप्त गर्न सक्ने हो र त्यसका आधार पेस गर्नुपर्ने छ । हचुवाका भरमा र सोर्स फोर्समा अब एसियाडमा सहभागिता हुने छैन,’ उनले भने, ‘खेलाडी छनोट प्रक्रिया पारदर्शी हुनुपर्छ । सबैले छनोटमा सहभागी हुने अवसर पाउनुपर्छ । यसका लागि विशेष पहल हुन्छ।’
१८ औं एसियाडमा विभिन्न ४० खेलमा ४ सय ६२ इभेन्टमा प्रतिस्पर्धा हुँदै छ । एनओसीले एसियाडमा राम्रो नतिजा ल्याउनका लागि विशेष प्रशिक्षणका कार्यक्रम गर्ने बताएको छ । ‘वैदेशिक सहयोग लिएर विदेशी प्रशिक्षक झिकाउने र केहि खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लैजाने विषयमा ओलम्पिकले काम गरिरहेको छ,’ श्रेष्ठले भने, ‘निर्वाचन लगत्तै तयारीमा जुट्ने छौं ।’
नेपालले विगतका दुई एसियाडमा तितो अनुभव गरेको छ। जम्बो टोलीको सहभागिता रहे पछि चीनको ग्वान्जाउमा भएको १६ औं एसियाड र दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाडमा १/१ कास्य पदकमा चित्त बुझाएको थियो । १६ औं एसियाडमा बक्सिङको ८१ केजी तौलसमूहतर्फ दिपक महर्जनले कास्य पदक जितेका थिए भने १७ औं एसियाडमा विमला तामाङले करातेको एकल कातामा कास्य जितेकी थिइन् । त्यस अघि दोहामा भएको एसियाडमा भने नेपालले तीन कांस्य पदक जितेको थियो ।
त्यसैगरी एसियाली खेलकुदको प्रबद्धन र सफलताका लागि १० अप्रिलमा एनओसीले फन रन समेत आयोजना गर्ने भएको छ। एसियाली खेलकुदमा समावेश विभिन्न खेल इन्डोनेसियको दुई सहर जकार्ता र पालेम्वाङमा हुने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
एनओसीले इन्डोनेसियाको जकार्तामा हुने १८ औं एसियाली खेलकुदको तयारीको विषयमा हुने सेफ दि मिसनको बैठकमा कमिटीकी उपाध्यक्ष ज्योति राणालाई पठाउने भएको छ । सो तयारी बैठक १२ देखि १४ डिसेम्बरसम्म हुँदै छ । त्यसैगरी एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ पनि उक्त बैठकमा सहभागी हुने छन् । १८ औं एसियाडको सेफ दि मिसन भने पछि तोकिने एनओसी अध्यक्ष श्रेष्ठले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।