काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ७७ जिल्लामा एकसाथ जागरण अभियान उद्घाटन गर्ने भएको छ। 'हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान'को पहिलो चरण आगामी बुधबारदेखि सुरु हुँदैछ।
तीन चरण गरी जागरण अभियान सकिने कांग्रेसले जनाएको छ। बैसाख २५-जेठ २५ प्रथम चरण, भदौ २४ (बिपी जयन्ती)-असोज १० दोस्रो चरण र अन्तिम चरणको अभियान पुस ७ देखि १६ सम्म हुनेछ।
पार्टीले सञ्चालन गरेको अभियानमा भ्रातृ संस्था भिन्नभिन्न मुद्दा लिएर अभियान सञ्चालन गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए।
परम्परागत शैलीलाई परिवर्तन गरी वक्ता तीन जना मात्रै हुने गरी कार्यक्रम प्रारुप बनाइएको उनले बताए। यसअघि बनाइएको प्रारुपमा महिला वक्ताहरुलाई महत्व कम दिइएको भन्दै महिला सदस्यहरुले आपत्ति जनाएपछि महिला वक्तालाई स्थान दिने गरी कार्यक्रम प्रारुप तय गरिएको छ। स्वागत र विसर्जनबाहेक केवल तीन वक्ताले सम्वोधन गर्ने गरी छिटोछरितो कार्यक्रम बनाउन लागिएको शर्माले केन्द्रीय कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
जागरण अभियानका लागि १२ भाषामा जागरण गीत तयार गरिएको छ। मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषामा गीत तयार भएको हो।
२५ गते अलगअलग प्रदेशका जिल्लामा प्रमुख नेताहरुले सम्बोधन गर्ने शर्माले जानकारी गराए।
जागरण केन्द्रित सतर्कताका लागि अनुशासन समितिको पार्टी हितविपरीतका गतिविधि कोहीबाट नगर्न सचेत बनाएको छ। जागरण अभियानलाई सम्पन्न गर्न ५१ जिल्ला सम्पर्क समितिको भेला भइसकेको छ।
बजेट अधिवेशन जारी रहेकोले सांसदहरुलाई अधिवेशनमा बढी क्रियाशील राख्न जिल्ला प्रतिनिधिका रुपमा पठाउने यसअघिको निर्णयमा परिवर्तन गरिएको छ।
जागरण अभियान विदेशस्थित ३३ जनसम्पर्क समितिले पनि सञ्चालन गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।