काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको हात समाउँदै एम्बुस विस्फोटमा एउटा खुट्टा गुमाएकी मीरा कटुवाल रोएपछि सँगै रहेका सबै भावुक बने।
प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै भने,‘म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छ।’
बुधबार उदयपुरमा एम्बुस विस्फोटमा परेर घाइते भई काठमाडौँ ल्याइएका बिरामीलाई भेट्न आज त्रिवि शिक्षण अस्पताल पुगेका देउवा सान्त्वना दिँदै थिए।
प्रधानमन्त्री देउवाले उदयपुर निर्वाचन क्षेत्र नं २ का नेपाली कांग्रेसका उम्मेदवार नारायण कार्की लगायत अन्य घाइतेलाई भेटी स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्।
बुधबार उदयपुरगढी गाउँपालिका-६ मा चुनाव प्रचारका क्रममा कार्कीको गाडीलाई लक्षित गरी भएको एम्बुस विस्फोटमा ७ जना घाइते भएका थिए। उनीहरु सबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
प्रधानमन्त्रीले उपचारमा कुनै कमी नराख्न पनि निर्देशन दिएका छन्।
विस्फोटबाट उम्मेदवार कार्की, कांग्रेस कार्यकर्ता कटुवाल र पत्रकार नवराज पौडेल, जिप चालक राजन कार्की, धनमाया धौलाकोटी, गणेश पुरी र प्रहरी जवान कालिदास श्रेष्ठ पनि घाइते भएका हुन्।
कटुवालको एउटा खुट्टाको घुँडामुनिको भाग काटिएको छ। अन्य घाइतेको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालका निर्देशक दीपक महराले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।