काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको छ।
काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। जनकपुरको जितमा मोइन अलीले अविजित ५८ र सैफ हसनले अविजित ४० रन बनाए।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमा अलआउट भएको थियो। काठमाडौंका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे।
काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा १६ वर्षीय राहुल यादवले चार विकेट लिए। उनले चार ओभरमा ३१ रन खर्चिए। सैफ हसनले दुई विकेट लिँदा मोइन अली, ललित राजवंशी र हरमीत सिंहले एक–एक विकेट लिए।
लक्ष्य पछ्याउने क्रममा जनकपुरले पहिलो ओभरमै त्रित राज दासलाई गुमाएको थियो। मयन यादव पनि नौ रन बनाएर रनआउट भए।
त्यसपछि मोइन र सैफले अविजित ७९ रनको साझेदारी गर्दै जनकपुरलाई जित दिलाए। मोइनले ५१ बलमा तीन चौका र तीन छक्कासहित ५८ रन बनाए। उनले ४९ बलमा अर्धशतक पूरा गरेका थिए।
सैफले ३९ बलमा एक चौका र तीन छक्कासहित ४० रन जोडे। जनकपुरले १६ बल बाँकी छँदै सहज जित निकाल्दै प्रतियोगितामा महत्त्वपूर्ण दुई अंक हासिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।