इटहरी– प्रदेश १ को स्थायी राजधानीको माग गर्दै धरान र विराटनगरले आन्दोलन चर्काउन सुरु गरेका छन्। प्रदेशसभामा पेस भएको राजधानी सम्बन्धी प्रस्तावको बिरुद्धमा विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा हिंसात्मक अभ्यास सुरु भएका हुन्। दुवै नगरमा आन्दोलन चर्कंदै गर्दा इटहरी भने मौन देखिएको छ।
अस्थायी राजधानी रहेको विराटनगरले राजधानी नसार्न दबाबमूलक आन्दोलन गरेको हो। हिजो संसदमा प्रस्तुत प्रस्तावमा विराटनगर, इटहरी र सुन्दरहरैचामा कार्यपालिका, व्यवस्थापिका लगायत कार्यलय रहने उल्लेख भएसँगै विराटनगरमा आन्दोलन चर्किएको हो। प्राडा भेषप्रसाद धमलाको संयोजकत्वमा जारी आन्दोलनमा विराटनगरका मेयर भीम पराजुली आफैले त्यसको अगुवाइ गरिरहेका छन्। जसमा महानगरका कर्मचारीकले समेत ऐक्यबद्धता जनाएका छन्।
उता धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मन्जु भण्डारीले हिजो आफै मुख्यमन्त्री र सभामुखसमक्ष ज्ञापनपत्र बुझाइन्।
धरानमा स्थायी राजधानी नभए आन्दोलन उठ्न सक्ने उनको चेतावनी थियो। हिजो पेस भएको प्रस्तावमा धरान नसमेटिएपछी आज धरानमा टायर बालेर प्रदर्शन भइरहेकोछ।
प्रदर्शनको क्रममा प्रहरी र आन्दोनकारीबीच झडप हुँदा दुई युवा घाइते भएका छन्।
यसअघि विराटनगरका मेयर पराजुलीले स्थानीय व्यापारी र मन्त्रीहरु बीचको भेटघाट गराएर दबाब दिएका थिए। मुख्यमन्त्रीदेखी प्रधानमन्त्रीलाई समेत भेटेर उनले राजधानीको लागि पहल गरे। जसले पनि विराटनगरको पक्षमा माहोल बढायो। नेपाली कांग्रेसका नेता शेखर कोइरालाको विश्वास पात्र मानिने पराजुलीले कांग्रेस सांसदलाई मौन बस्ने वातावरण बनाए। संसदीय दलका नेता राजीव कोइरालादेखि प्रमुख सचेतक केदार कार्कीसम्म एउटै टिमका नेता भएकोले कांग्रेसले बिराटनगरमै मौन स्विकृति देखायो।
धरान र बिराटनगरका मेयरले राजधानीका लागि बृहत् अभियान चालिरहँदा इटहरीका मेयर द्वारिकलाल चौधरी भने बाहिर आउन सकेनन्। नागरिक समाज इटहरीको पहलमा ०७४ भदौमा राजधानी सरोकार समाजका संयोजक भएका उनी त्यस दिनदेखि राजधानीको अभियानमा मौन देखिँदै आएका छन्। अन्य सदस्य र नागरिक समाजका सदस्यहरु अभियानमा सरिक भए तर उनी देखिएनन्। राजनैतीक दलका प्रमुख, सामाजिक संस्थाका प्रमुख सदस्य रहने र सांसद तथा पूर्वमन्त्री सल्लाहकार सहने समाजले काठमाडौंसम्म अभियान चाल्यो। जहाँ मेयर आफै अनुपस्थित रहे।
इटहरीबाटै प्रतिनिधित्व गर्ने प्रदेश सांसद सर्वध्वज सावा र लिलम बस्नेतले हस्ताक्षर अभियान नै चलाए। तर मेयर चौधरी भने त्यसबाट बेखबर जस्तै देखिए। सांसद द्वय बस्नेत र सावाले इटहरीको पक्षमा निर्णय गराए। हिजो संसदमा प्रस्तुत प्रस्तावको समर्थक तिनै बस्नेत छन्। उनका अनुसार इटहरीमा प्रदेशसभा ल्याउने गरी सहमति भएकोले प्रस्ताव दर्ता भएको हो।
सुरुदेखि नै राजधानीको माग गर्दै आएको धनकुटाका ४ सांसदले भने प्रस्तावको विपक्षमा अर्को प्रस्ताव दर्ता गराएका छन्। बहुमत सदस्यले प्रस्तावको समर्थन गरेमात्र छलफल हुने व्यवस्था भएकोले उक्त प्रस्तावमाथि छलफल नहुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।