इटहरी- सुनसरीको इटहरी उपमहानगरपालिका–९ भलादमी टोलमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभास्थलमा बम विस्फोट हुँदा ४ सर्वसाधारण गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा एक वर्षीय युवन न्यौपाने, १७ वर्षीया समृना अधिकारी, उनकी आमा ३७ वर्षीया निर्मला र कांग्रेसका स्थानीय नेता धनबहादुर श्रेष्ठ रहेको स्थानीय गोविन्द घिमिरेले जानकारी दिए।
घाइते चारै जनालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पुर्याइएको छ। उनीहरुको शरीरका विभिन्न भागमा बमको छर्राले गहिरो चोट लागेको प्रचार कार्यमा संलग्न घिमिरेले बताए।
कार्यक्रम भइरहेको स्थानमा अकस्मात् ठूलो आवाजसहित बम विस्फोट हुँदा मान्छेहरुको भागदौड भएको थियो।
बम कसले राखेको हो भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सञ्जय राउतले बताए। घटनास्थलको अनुसन्धानका उक्त क्षेत्र नियन्त्रणमा लिइएको र चेकजाँच कडा बनाइएको उनले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।