पेरिस– पेनाल्टी हान्ने विषयमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डद्वय एडिन्सन काभानी र नेइमारबीच दुई महिनाअघि मैदानमै विवाद भएको थियो।
पेनाल्टी हान्न दुवै स्ट्राइरले दाबी गरेपछि विवाद बढेको थियो। क्लबले पछि नेइमारलाई पेनाल्टी हान्न दिने निर्णय गरेको थियो। पछिल्लो समय पिएसजीका सबै पेनाल्टी नेइमारले प्रहार गर्ने गरेका थिए।
बुधबार भने फ्रेन्च लिग वान अन्तर्गत ट्रोयस विरुद्धको खेलमा प्राप्त पेनाल्टी काभानीले प्रहार गरेका थिए। ४१ मिनेटमा काभानीलाई ट्रोयसका खेलाडीले जर्सी तानेर लडाएपछि रेफ्रीले पेनाल्टीको अवसर दिए। प्राप्त पेनाल्टी हान्न काभानीले नेइमारसँग अनुरोध गरेका थिए। काभानीको अनुरोधमा नेइमारले मुन्टो बटारेर हिँडेका थिए। काभानीको प्रहार गोलमा परिणत हुन सकेन। गोल हुन नसकेपछि नेइमारले मैदानमा असन्तुष्टि जनाएका थिए। यद्यपि दुवै फरवार्डले दोस्रो हाफमा गोल गरेपछि पिएसजीले २–० को जित निकाल्यो।
यसअघि दुई महिनाअघि लियोनविरुद्ध पेनाल्टी प्रहार गर्ने विषयमा नेइमार र काभानीबीच विवाद भएको थियो। त्यतिबेला पेनाल्टी हान्न बल लिएर काभानी अघि बढेका थिए। तर, नेइमार पनि पेनाल्टी हान्ने मुडमा देखिएका थिए। काभानीले रिसाएर उत्तर फर्काए। नेइमारले पनि आक्रामक रुपमा जवाफ फर्काए। त्यसपछि नेइमार फन्किएर हिँडेका थिए। त्यतिबेला पनि काभानीको पेनाल्टी प्रहार गोलमा परिणत हुन सकेको थिएन।
हेर्नुहोस् भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।