म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार १२औं जित हात पारेको छ। सिटीले १४औं चरणको खेलमा साउथह्याम्टनलाई २–१ ले पराजित गरेको हो। लिगमा अपराजित सिटी १३ खेलमा जित निकाल्दा १ खेलमा बराबरीमा रोकिएको छ।
४७ मिनेटमा केभिन डे ब्रुइनले गोल गरेर सिटीलाई अग्रता दिलाए। तर ७५ मिनेटमा साउह्याम्टनका रोमेलुले गोल गरेपछि खेल १–१ को बराबरीमा आयो। दोस्रो हाफको इन्जुरी टाइमको छैटौं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपछि सिटीले रोमान्चक जित हात पारेको हो।
लिगका अन्य खेलमा लिभरपुलले स्टोक सिटीलाई ३–० गोल तथा आर्सनलले हडर्सफिल्ड टाउनलाई ५–० ले पराजित गरेका छन्। लिभरपुलको जितमा साडियो मानेले १ गोल गर्दा मोहमद सलाहले २ गोल गरे। आर्सनलका लागि लाकाजेटी, एलेक्सिस सान्चेज र मेसुज ओजिलले १–१ गोल गरे। ओलिभर जिरुडले २ गोल गरे।
चेल्सीले स्वान्सी सिटीलाई १–० ले हरायो। इभर्टनले वेस्ट हाममाथि ४–० गोलको जित हात पारेको छ।
लिगमा १४ चरणको खेल सकिँदा म्यानचेस्टर सिटी ४० अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३२, तेस्रो स्थानको चेल्सीको २९, चौथो स्थानको आर्सनलकको २८ र पाँचौं स्थानको लिभरपुलको २६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।