काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिम विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सातौं चरण खेल्न बुधबार युएई प्रस्थान गरेको छ।
युएई प्रस्थान गरेको टिममा पुरानै खेलाडीको बाहुल्य छ। शक्ति गौचन र दिलीप नाथले भने राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। दिलीपले गत चैतमा भएको इमर्जिङ टिम्स कपमा सिनियर टिममा डेब्यू गरेका थिए। त्यसयता उनी टिममा पर्न संघर्षरत थिए। शक्ति विरामी परेका कारण हङकङ विरुद्धको छैटौं चरणको खेलमा नेपाली टिममा थिएनन्।
वैकल्पिक खेलाडीको रुपमा रहेका अनिलकुमार साह र कुशल भुर्तेल पनि युएई प्रस्थान गरेका छन्। युएई प्रस्थान गरेको नेपाली टिमको औपचारिक विदाइ भने गरिएन। राष्ट्रिय खेलकुद परिषदले विदाइ कार्यक्रम राख्ने गरेपनि सदस्यसचिव केशव विष्ट उपत्यकाबाहिर भएकाले यसपटक औपचारिक विदाइ हुन नसकेको हो।
नेपालले युएईसँग प्रतिस्पर्धा गर्नुअघि आउँदो शुक्रबार अमेरिका र आइतबार केन्यासँग अभ्यास खेल खेल्ने कार्यक्रम छ।
यो पनि : प्रशिक्षक टमाटा भन्छन्: युएई विरुद्धको खेल डिभिजन-२ को तयारी
डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीच मंसिर २० र २२ गते प्रतिस्पर्धा हुनेछ। खेल आबुधावीको शेख जायेद रंगशालामा हुनेछ।
डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। त्यसैले अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीको रुपमा लिएका छन्।
डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चारभित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।
नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, दिलीप नाथ र शक्ति गौचन।
वैकल्पिक खेलाडी– कुशल भुर्तेल, अनिलकुमार साह, जितेन्द्र मुखिया, सिद्धान्त लोहनी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।