काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा फरवार्ड परियोजनाका लागि निवेदन दिएको छ। ४ वर्षको परियोजनाका लागि एन्फाले केहीदिन अघि निवेदन दिएको हो।
परियोजनाको कुल बजेट ५० लाख अमेरिकी डलर (५१ करोड रुपैयाँ) छ। यो रकम फिफाले ४ वर्षभित्रमा उपलब्ध गराउँछ। प्रत्येक वर्ष प्रदान गरिने रकममध्ये ७ करोड ७१ लाख रुपैयाँ पूर्वाधार निर्माण र प्रतियोगिता सञ्चालन कार्यकममा प्रयोग गर्न सकिनेछ। यस्तै ५ करोड रुपैयाँ प्रशासनका लागि खर्च गर्न सकिनेछ।
एन्फा प्रवक्ता सञ्जीव मिश्रले परियोजना स्वीकृत भएमा त्यसले मुख्य गरी 'ए' डिभिजन लिग सञ्चालमा ठूलो सहयोग पुग्ने बताए। 'हामीले फिफा फरवार्ड परियोजनाका लागि निवेदन दिएका छौं। परियोजना पाएको खण्डमा उक्त रकम 'ए' डिभिजन लिग सञ्चानलका लागि खर्च गर्ने योजना छ,' मिश्रले नेपाल लाइभसँग भने।
फिफाको परियोजना प्राप्त गर्न विकास कार्यक्रमसहितको निवेदन हुनुपर्ने व्यवस्था छ। कार्यक्रम उचित लागेको खण्डमा फिफाको विकास समितिले स्वीकृत गर्नेछ। परियोजना स्वीकृतिपछि फिफाले सम्बन्धित संघसँग चार वर्ष वा दुई वर्षको सम्झौता गर्नेछ। प्रत्येक वर्षको अनुगमन फिफाको विकास समितिले नै गर्नेछ।
लिग सञ्चालन गर्न फिफा फरवार्ड कार्यक्रमका लागि निवदेन दिए पनि एन्फाले लिगको मिति भने अझै टुंगो लगाउन सकेको छैन। ४ वर्षपछि गर्ने तयारी गरिएको 'ए' डिभिजन लिग तेस्रो पटक सरिसकेको छ।
ए डिभिजन लिग सुरुमा वैशाख र त्यसपछि भदौमा गर्ने तय गरिएको थियो। पछिल्लो पटक मंसिर १४ देखि लिग गर्ने भने पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई कारण देखाउँदै सारिएको थियो। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिर १० को पहिलो चरणको निर्वाचन सकिएको छ भने र दोस्रो चरणमा २१ गते निर्वाचन हुँदैछ।
एन्फा प्रवक्ता मिश्रका अनुसार पुस दोस्रो सातादेखि लिग गर्ने तयारी भइरहेको छ। उनले क्लबहरुसँगको बैठकपछि छिट्टै लिगको मिति घोषणा गर्ने जनाए। 'क्लबहरुसँग बैठक राखेर एउटा सहमति गर्छौं, अनि छिट्टै लिगको मिति घोषणा गर्छौं', उनले भने।
यसअघि एन्फाले सुरुमा वैशाख दोस्रो सातादेखि लिग गर्ने तयारी गरेकोमा थ्री स्टार क्लबसँगको विवाद र स्थानीय निर्वाचनका कारण लिग सरेको थियो। लगत्तै थ्री स्टारसँगको विवाद मिलेपछि एन्फाले भदौमा लिग गर्ने तयारी थालेको थियो। तर, साउन अन्तिम साता बसेको एन्फाको बैठकले एकाएक मंसिरमा लिग गर्ने निर्णय गरेको थियो।
एन्फाले विगत २ वर्षदेखि कुनै पनि लिग गराउन सकेको छैन। एन्फाले पछिल्लो पटक ०७२ मा राष्ट्रिय लिग आयोजना गरेको थियो। ए डिभिजन लिग भने ०७० सालदेखि हुन सकेको छैन।
पुसमा हुने भनिएको लिगमा १६ टिमबीच होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा हुनेछ। यसअघि १२ टिमबीच लिग गर्ने भनिए पनि पछि ४ टिम थप गरिएको थियो। एन्फाले गत भदौमा उपत्यका बाहिरका चार टिमलाई ए डिभिजन लिगमा समेट्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।