काठमाडौं- पाँचतारे होटल दी एभरेस्टका कर्मचारी र व्यवस्थापन बीच रहेको विवाद समाधान भएको छ। २०७२ बैशाख १२ को भूकम्पपछि जेठदेखि बन्द भएको एभरेस्ट होटलका कर्मचारी र व्यवस्थापनबीच सहमति भएसँगै सर्वोच्च अदालतबाट मुद्दा पनि फिर्ता भएको छ।
मजदुर र व्यवस्थापनबीच काम गरेको समयमा सेवा सुविधा बापतको रकम पाउनुपर्ने र कर्मचारी कटौतीको विषयमा विवाद भएको थियो।
विवाद समाधानसँगै साउन १ गतेबाट बाँकी रहेका कर्मचारीले रोजगारी पाउने ग्यारेन्टी भएसँगै विवाद समाधान भएको हो।
के थियो विवाद?
होटलले २०७२ जेठ ३१ गते सबै कर्मचारी कटौतीको सूचना जारी गरेसँगै कर्मचारी व्यवस्थापनका विरुद्धमा उच्च अदालत पाटनमा रिट दर्ता गराएका थिए। उच्चले पनि कर्मचारीको कटौती गर्ने निर्णय कार्यान्यवन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
अदालतको आदेशपछि होटल व्यवस्थापन श्रम कार्यालय टेकु पुगेको थियो। होटल व्यवस्थापनले कार्यालयमा निवेदन दिँदै कर्मचारीलाई छलफलमा बोलाइदिन आग्रह गरेको थियो। कार्यालयले सात पटकसम्म दुबै पक्षलाई छलफलमा बोलाएपनि व्यवस्थापन आफैं उपस्थित भएको थिएन।
व्यवस्थापन छलफलमा उपस्थित नभएपछि कार्यालयले कर्मचारीलाई उनीहरुको हाजिर अनुसारको तलब दिनुपर्ने गरी निर्णय गरेको थियो भने अन्य विषयमा मुद्दाको फैसलाअनुसार हुने भनेको थियो।
त्यसपछि होटल व्यवस्थापन पुनः श्रम अदालत पुगेका थिए। श्रम अदालतले पनि उनीहरुलाई हाजिरअनुसारको तलब तथा सेवा सुविधा दिनु भन्दै श्रम कार्यालय टेकुको निर्णय नै सदर गरिदिएको थियो। त्यसपछि फेरि होटल व्यवस्थापन श्रम अदालत काठमाडौं र उच्च अदालतको आदेशको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरेका थियो।
सर्वोच्च अदालतले पनि तत्कालीन समयमा उच्च अदालतको आदेश र श्रम अदालतको फैसला सदर गर्दै अन्तरिम आदेश जारी गर्न नपर्ने भन्दै रिट खारेज गरेको थियो। त्यसपछि दुई पक्षीय विवदाको मुद्दा अदालतमा विचाराधिन थियो।
मुद्दा विचाराधीन रहेको समयमै पुनः होटल व्यवस्थापनले कर्मचारीसँग वार्ता थालेको थियो। वार्ताका क्रममा यही २०७५ फागुन १२ गते कर्मचारी र होटल व्यवस्थापनबीच सहमति भएको थियो। सहमतिपछि होटल व्यवस्थापनले सर्वोच्चले मुद्दाको पेस्की वैशाख २९ गते तोकेपछि एक साता अगाडि नै मुद्दा फिर्ता लिएको हो।
सहमति के?
साउन १ गतेदेखि बाँकी रहेका कर्मचारीलाई रोजगारीमा निरन्तरता दिने सहमतिमा उल्लेख छ। साथै साढे १४ महिना बराबरको हुन आउने तलब दिने गरी सहमति भएको छ। तर त्यसरी दिइने रकममा कर्मचारीले सञ्चय कोषबापत पाउने रकम समेत समावेश हुने बताइएको छ।
साथै सहमतिमा आर्थिक वर्ष २०७१/७२ को नाफाबाट कर्मचारीले पाउने बोनस रकम दिने उल्लेख छ। प्रायः सबै कर्मचारीले बोनस रकमसमेत पाइसकेका छन्। यसैगरी सहमतिमा होटल सञ्चालन भएको मितिदेखि कर्मचारीको ५ प्रतिशत तलब बढाइने र नेपाल सरकारले बढाउको मजदुरको तलब रकम ३७ सय ५० रुपैयाँ पनि सबैको हकमा लागू हुने गरी सहमति भएको छ। जसमा २२ सय ५० रुपैयाँ तलबमा र १५ सय भत्ता हुने गरी सहमति भएको होटल व्यवस्थापनले जानकारी दिएको छ।
होटल बन्द हुँदा १ सय ४१ जना कर्मचारी रहेका थिए। त्यसमा अहिले ७ जनाले अवकाश पाइसकेका छन् भने ६ जनाले राजीनामा दिइसकेका छन्। अब बाँकी १ सय २८ जनाको रोजगारी सुनिश्चित भएको छ।
भूकम्पले क्षति पुर्याएको होटेलका संरचना धमाधम पुनर्निर्माण भइरहेको छ। निर्माण सम्पन्न भएसँगै होटल सञ्चालनको तयारी पनि थालिएको व्यवस्थापनले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।