रौतहट– मंसीर २१ मा हुने प्रतिनिधि र प्रदेशसभाको दोश्रो चरणको निर्वाचनका लागि विभिन्न दलका उम्मेदवार घरदैलोमा व्यस्त छन्।
विभिन्न योजना र आश्वासन दिँदै दलित समुदायका बस्ती– बस्तीमा प्रमुख दलका उम्मेदवारहरु मत माग्न पुगिरहेका छन्।
रौतहटका मुसहर समुदायका अगुवाले भने हरेक चुनावमा सबै दलबाट आश्वासन मात्रै पाएको तर आफ्नो समुदायको उत्थानका लागि कुनै पहल नगरेको गुनासो गरेका छन्।
देशभर १२ लाखभन्दा बढी मुसहर जातिको जनसंख्या रहेको मुसहर अगुवाहरुको दाबी छ । नेपाल राष्ट्रिय मुसहर उत्थान समाजका उपाध्यक्ष नथुनी माझी गुनासो गर्छन्, ‘हाम्रो समुदायको उत्थानको कुरा त परै जाओस् त्यति ठूलो संख्यामा रहेको मुसहर समुदायबाट राजनीतिक रुपमा कसैले स्थान समेत पाएका छैनौं।’
रौतहटमा मात्रै ३० हजारभन्दा बढी मुसहर जातिको बसोवास छ । स्थानीय तहमा वाध्यात्मक पद बाहेक मुसहरलाई स्थान नदिएको भन्दै दलहरुप्रति मुसहरका अगुवाले आक्रोश पोख्न थालेका छन्।
भूमि अधिकार मञ्चका रौतहट संयोजक समेत रहेका अनुप माझी भन्छन्, ‘मुसहरहरु नेतृत्व लिन सक्षम हुँदा पनि राजनीतिमा अवसर दिइएको छैन । सामाजिक, राजनीतिक, शैक्षिक र आर्थिक रुपमा नै हामीलाई पछाडि पारिएको छ।’
उनीहरुले हरेक चुनावमा उम्मेदवारलाई घर बनाइदिन, छोराछोरी पढाइदिन, औषधि उपचारको व्यवस्था गरीदिन र जमिनको पुर्जा दिलाइदिन माग गर्दै आएका छन्। तर, उनीहरुका माग भने पूरा भएका छैनन्।
घरदैलोमा आउने उम्मेदवारले मुसहरको जीवनस्तर उकास्ने, गाउँको बिकास गर्ने, शिक्षा–स्वास्थ्यको सुविधा दिलाउने वाचा गर्दै हरेक पटक भोट लिए पनि काम नगरेको अनुप माझी बताउँछन् ।
रौतहटका मुसहरहरुको अवस्था दयनीय रहेकाले गाँस, बास र कपासकै समस्या रहेको नथुनी माझीले बताए। उनी भन्छन्, ‘यस वर्षको बाढीले मुसहरका सयौं झुपडी बगायो। पीडामाथि पीडा थपिएको छ। तर, नेताहरु भने आश्वासन मात्र बोकेर भोट माग्न आउँछन्।’
उनले आक्रोश पोख्दै भने, ‘उम्मेदवारले विकासका आवश्वास दिन्छन्, तर वाचा पूरा गर्दैनन्। अनि बस्तीमा भोजभतेर खुवाएर भोट माग्छन्।’
उनले उम्मेदवारले चुनावमा गरेका वाचा पूरा गर्नुपर्ने र मुहसर बस्तीमा मासु, मदिरा, चिउरा, चामल बाँडेर भोट माग्न छोड्नुपर्ने बताए।
रौतहटका १६ नगरपालिका र २ गाउँपालिकामा गरी साना–ठूला गरेर ५९ वटा मुसहर बस्ती छन्। ती बस्तीमा वर्षौंदेखि खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्यको अभाव रहे पनि राजनीतिक दलहरुले सुधारका लागि उल्लेख्य काम नगरेको मुसहर अगुवाहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।