काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले राजधानी केन्द्रित चुनावी अभियान सुरु गरेको छ। पहिलो चरणको निर्वाचन सकिएलगत्तै मंगलबार उपत्यकामा दुई वटा चुनावी सभा गर्दै वाम गठबन्धनले आक्रमक प्रचारप्रसार थालेको हो।
मंसिर २१ मा हुने दोस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै वाम गठबन्धनले ललितपुरको लगनखेल र काठमाडौंको नयाँ बानेश्वरमा सभा आयोजना गरेको हो।
नयाँ बानेश्वरको सार्वजनिक बाटोलाई अवरोध गर्दैै वाम गठबन्धनले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मा सहभागीले सम्बोधन गरेका थिए।
चुनावी सभामा गठबन्धनका शीर्ष नेतासहित सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारले पनि बोलेका थिए। उपत्यकाको सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत सम्बोधन गर्ने तयारी गरिए पनि उनी अनुपस्थित थिए। प्रचण्ड मंगलबार चितवनकै चुनावी गतिविधिमा व्यस्त भएपछि काठमाडौंको सभामा सहभागी भएनन्।
लगनखेलको सभामा प्रतिनिधिसभा उम्मेदवारहरु नवराज सिलवाल, कृष्णलाल महर्जन, पम्फा भुसाल तथा प्रदेशसभा सदस्यका उम्मेदवार सहभागी थिए। सभालाई एमाले अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गरेका थिए।
कांग्रेसप्रति आक्रमण देखिएका ओलीले बहुमत कांग्रेसका लागि ‘बाँदरको हातमा नरिवल’ भएको टिप्पणी गरे। ४८ सालमा प्राप्त बहुमत कांग्रेसले ३७ ठूला उद्योग बेच्न र ५६ सालको बहुमत प्रजातन्त्र दरबारमा बुझाउन प्रयोग गरेको ओलीले आरोप लगाए।
लगत्तै काठमाडौं क्षेत्र नम्बर १ ले बानेश्वरस्थित संसद भवन नजिकै आयोजना गरेको चुनावी सभामा पनि ओलीले कांग्रेस र साझा विवेकशिल पार्टीको आलोचना गरे।
ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा दोस्रो चरणमै निर्वाचन भए पनि उपत्यकामा गठबन्धनलाई जिताउन चुनावी अभियानमा सरिक भएका हुन्।
पूर्व ऊर्जा तथा गृहमन्त्री जनार्दन शर्माका भाई अनिल शर्मा प्रतिनिधिसभा उम्मेदवार रहेको काठमाडौं–१ को चुनावी सभामा एमाले अध्यक्ष ओली र पूर्वप्रधानमन्त्री नेपालले कांग्रेसप्रति तिखो टिप्पणी गरे।
काठमाडौंमा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र र कांग्रेस नेता प्रकाशमान सिंहलाई ओलीले कटाक्ष गर्न भ्याए।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कात्तिक २९ मा गोरखाबाट निर्वाचन प्रचारप्रसार अभियान सुरु गरेको वाम गठबन्धनले मोफसलका विभिन्न जिल्लामा संयुक्त चुनावी सभा सम्पन्न गरिसकेका छन्।
उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा प्रतिनिधिसभा अन्र्तगत १५ र प्रदेशसभा अन्र्तगत ३० सिट छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।