काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १८ करोड रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा यातायात व्यवस्था कार्यालय इटहरीका दुई उपसचिव सहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष ०६९/७० देखि आर्थिक वर्ष ०७०/७१ सम्मको राजस्व संकलनमा ८ करोड ९६ लाख १७ हजार ७३ रुपैयाँ हिनामिना गरेको देखिएको भन्दै अख्तियारले दुई उपसचिव, दुई लेखापाल र एक सहलेखापालविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
यातायात व्यवस्था कार्यालय इटहरीमा राजश्व संकलनका क्रममा सो रकम हिनामिना गरेको अख्तियारको दाबी छ। अख्तियारले उपसचिव होमनाथ भट्टराईमाथि १४ लाख ५ हजार ८ सय ७३ रुपैयाँ तथा उपसचिव विष्णुप्रसाद पौडेलमाथि ८ करोड ८२ लाख ११ हजार १ सय ८९ रुपैयाँको माग दाबी गर्दै मुद्दा दायर गरेको छ।
त्यस्तै, लेखापाल सुरेश अधिकारी र मणिराज दाहाल तथा सहलेखापाल टंकबहादुर खड्कामाथि ८ करोड ९६ लाख १७ हजार ६३ रुपैयाँ माग दाबी गर्दै आरोपपत्र दायर गरिएको अख्तियारका सहसचिव एवं प्रवक्ता जीवराज कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।