लन्डन- चिनियाँ दूरसञ्चार कम्पनी 'हुवावे'लाई तीब्र गतिको इन्टरनेट सेवा (फाइब जी) को सीमित अनुमति दिइएको बारेमा भएका खुलासाहरु फौजदारी अपराध नरहेको बेलायती प्रहरीले स्पष्ट गरेको छ।
प्रधानमन्त्री थेरेसा मेले बुधबार यही आरोपमा रक्षामन्त्री ज्याभिन विलियम्सनलाई बर्खास्त गरेकी थिइन्। बेलायतको राष्ट्रिय सुरक्षा परिषद्को अप्रिल २३ मा बसेको बैठकमा भएको निर्णय सार्वजनिक हुनुमा प्रधानमन्त्री मेले रक्षामन्त्रीमाथि दोष लगाएकी थिइन्।
परिषद्मा भएको छलफलमा वरिष्ठ मन्त्रीहरु र सुरक्षा अधिकारीलाई मात्र सहभागी गराइन्छ। उनीहरुले सरकारी गोप्यता ऐन बमोजिम सपथ लिएर मात्र परिषद् बैठकमा सहभागी हुन पाउँछन्। परिषदका कुनै पनि सदस्यले बैठकमा व्यक्त गरेका विचारलाई निजी रुपमा व्याख्या गर्ने प्रचलन छैन।
कतिपय वरिष्ठ विपक्षी नेताहरुले उक्त घटनाका बारेमा प्रहरी छानबिन हुनुपर्ने माग गरेका छन्।
तर, शनिबार एक वक्तव्य जारी गर्दै सहायक प्रहरी आयुक्त निल बसुले यस विषयको छानबिन अनुपयुक्त रहेको स्पष्ट पारेका छन्। प्रहरी अनुसन्धानले सरकारी गोप्यता ऐनको उल्लङ्घन भएको पर्याप्त प्रमाण फेला नपरेको पनि उनले जानकारी दिए।
उक्त खुलासाले सार्वजनिक महत्वमा कुनै क्षति नपुगेको पनि उनकाे दाबी छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।