मियामी- संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा एक यात्रुबाहक बोइङ शनिबार धावन मार्गमा चिप्लिएर नदीमा खसेको छ। आँधी तुफानबीच अवतरण गर्ने क्रममा 'बोइङ ७३७' चिप्लिएको अधिकारीहरुले बताएका छन्।
विमानमा सवार १ सय ४३ यात्रु सबै सकुशल रहेका छन्। केही यात्रुलाई भने तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको थियो।
यो चार्टर्ड विमानको सञ्चालन मियामी एयर इन्टरनेसनलले गरेको थियो। उक्त विमान क्युबाको ग्वान्तानामो बेबाट अमेरिकाको ज्याक्सनभिल्लातर्फ उडिररहेको थियो।
विमानका एक यात्रु एवं वकील शेरिल बोरम्यानले सिएनएनसँग विमान जमिनमा बेस्सरी ठोक्किएको र त्यसपछि उछिट्टिएर नजिकैको नदीमा पुगेकाे बताए। उनले आफूहरु पानीमा भए पनि कहाँ झरेको हो थाहा नपाएकाे अनुभव सुनाए। उनले एकछिन त विमान समुद्रमा खसेको हो वा नदीमा खसेको हो थाहा पनि पाउन नसकिएको स्मरण बताए।

नदीमा विमान खस्नासाथ अक्सिजन मास्क लगाइएको र ढोका तुरुन्तै खुलेको पनि उनकाे भनाइ थियाे।
ज्याक्सनभिल्ले नौ-सैनिक हवाई अड्डाका कमान्डिङ अधिकृत क्याप्टेन मिसेल कोन्नोरले विमान दुर्घटनामा कसैको ज्यान जोखिममा नपरेकाेमा चमत्कार नै भएको प्रतिक्रिया दिए।
उक्त '७३७–८००' विमान १८ वर्ष पुरानो हो। अमेरिकी विमान कम्पनी बोइङ पछिल्ला दिनहरुमा '७३७ म्याक्स' सिरिजका विमानहरु दुर्घटनाका कारण ठूलो सङ्कटमा छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।