काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको सुरक्षा र खुसीलाई प्राथमिकतामा राखेर काम गर्न उद्योग व्यवसायीलाई आग्रह गरेका छन्।
ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको २५औं स्थापना दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री विष्टले उत्पादन र उत्पादकत्व प्रत्यक्ष सम्बन्ध श्रमिकसँग गाँसिएकाले उनीहरुको सुरक्षा र खुसीलाई सदैव महत्वका साथ सम्बोधन गर्न सुझाव दिएका हुन्।
उत्पादन र उत्पादकत्व वृद्धिका लागि श्रमिक र व्यवसायीबीचको सम्बन्ध सुदृढ हुनुपर्ने भन्दै मन्त्री विष्टले सबै श्रमिकलाई सुरक्षाको अनुभुति दिलाउन सक्नुपर्ने उल्लेख गरे।
'नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी उन्नत प्रविधिका साथ उत्पादनलाई व्यवस्थित बनाउन आवश्यक छ,' मन्त्री विष्टले भने।
महासंघका अध्यक्ष मोहन कटुवालले साना तथा मझौला, लघु उद्यमीलाई ठुला उद्योगलाई भिन्नभिन्न व्यवहार गरी सामाजिक सुरक्षा ऐनको परिधिमा पस्न सक्ने वातावरण श्रृजना गर्न माग गरे।
उनले सरकारको नीतिमा रहेको प्राविधिक शिक्षालाई व्यवहारमा कार्यान्वयन गर्न पनि माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।