काठमाडौं- सत्तारुढ नेकपा संसदीय दलको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको शब्दावली ‘मेरो सरकार’को विषयमा बोल्न प्रधानमन्त्री केपी ओलीले सांसदहरुलाई रोक लगाएका छन्।
संसदीय दलको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुग्नुअघि सांसदहरुसँग नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका थिए। सो क्रममा उनले नीति तथा कार्यक्रम तयार गर्ने क्रममा आफूलाई प्राप्त भएको प्रतिमा ‘मेरो सरकार’ नभएको जानकारी दिएका थिए।
प्रचण्डको भनाइ उधृत गर्दै एक सांसदले भने, ‘मैले राम्रोसँग हेरको हुँ। मैले पढ्दा 'मेरो सरकार' थिएन। पछि कहाँबाट घुसाइयो। म भन्न सक्दिनँ।’
प्रचण्ड बोल्दाबोल्दै प्रधानमन्त्री प्रवेश गरेका थिए। प्रधानमन्त्री ओलीले बोल्ने क्रममा संसारभरको प्रचलन भएको भन्दै राष्ट्रपतिको बोलीको बचाउ गरेका थिए। उनले आफ्नो भनाइ राखिसकेपछि सांसदहरुले यसबारे धारणा राख्न हात उठाए पनि ओलीले समय दिएनन्।
'मेरो सरकार' शब्दावलीप्रति धारणा माग गर्न समय मागेका सांसदहरुलाई ओलीले बोल्न रोकेका हुन्। सांसदहरु जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र नेतृ रामकुमारी झाँक्रीले बोल्न समय माग गरेका थिए। राष्ट्रपतिले प्रयोग गरेको शब्दावलीमाथि छलफल हुनुपर्ने उनीहरुको माग थियो।
नेतृ झाँक्रीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सहमत हुन नसक्ने बताइएकी छन्।

उनले ट्विटमार्फत असन्तुष्टि जनाउँदै फरक मतसहित नीति तथा कार्यक्रम पास गर्न मत हाल्ने जनाइन्।
हिजो संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले 'मेरो सरकार' प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भएको थियो। राजाको समयमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमको शैलीमा राष्ट्रपति भण्डारी संसदमा प्रस्तुत भएकाे भन्दै टिप्पणी भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।