भुवनेश्वर- शक्तिशाली सामूद्रिक आँधी ‘फानी’का कारण भारतको पूर्वी तटवर्ती राज्य उडिसामा ९ जनाको मृत्यु भएको छ।
प्रतिघन्टा २ सय किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र वर्षामा परी अरु १ सय ६० जनाभन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन्।
आँधी र वर्षाले रुख र बिजुलीका पोलहरु ढलेका छन् भने थुप्रै भौतिक संरचनाहरुमा पनि क्षति पुगेको समाचारमा जनाइएको छ।
विषेशगरी भुवनेश्वर, कत्ताक, पुरी र खोर्धा जिल्लामा आँधी र वर्षाले धेरै असर पारेको उडिसा सरकारले जनाएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आँधीबाट प्रभावित भएकाहरुलाई राहतको घोषणा गरेका छन्।
बङ्गालको खाडीबाट सुरु भएको सामुद्रिक आँधी शनिबार बिहान ८ बजे तटीय इलाकामा आइपुगेको थियो।
भारतको पूर्वी तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउने आशङ्कामा त्यस क्षेत्रका करिब ८ लाखभन्दा बढी मानिसलाई बिहीबार नै सुरक्षित स्थलतर्फ सारिएको थियो।
उडिसामा सन् १९९९ मा आएको सामूद्रिक आँधीका कराण करिब १० हजार जनाको मृत्यु भएको थियो।
त्यतिखेर करिब १० लाख व्यक्ति आँधी प्रभावित क्षेत्रबाट विस्थापित भएका थिए।
त्यस्तै सन् २०१७ मा तामिलनाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ओक्खीले करिब २५० जनाको ज्यान लिएको थियो।
त्यस्तै छ सय व्यक्ति वेपत्ता भएका थिए।
भारतको पूर्वी र दक्षिणपूर्वी क्षेत्रमा अप्रिलबाट डिसेम्बरसम्म प्रायः आँधीले आउने र ठूलो धनजनको क्षति हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।