काठमाडौं– दुई वर्षदेखि चलिरहेको विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप आगामी साता सकिँदै छ। च्याम्पियनसिपको अन्तिम चरणका आठ वटै खेल आगामी मंसिर २० र २२ मा युएईमा हुँदै छन्।
च्याम्पियनसिपको अन्तिम चरण ३ टिमका लागि महत्वपूर्ण छ। स्कटल्यान्ड, हङकङ र केन्यामध्ये २ टिम विश्वकपमा छनोट प्रतियोगिताका लागि छानिनेछन् भने १ टिम डिभिजन–२ मा झर्नेछ।
नेदरल्यान्ड्स र पपुवा न्युगिनी विश्वकप छनोट प्रतियोगितामा स्थान बनाइसकेका टिम हुन्। नेपाल, नामिबिया र यूएई भने डिभिजन–२ मा झरिसकेका छन्।
स्कटल्यान्ड, हङकङ र केन्याका खेल निर्णायक खेल भए पनि नेपाल र युएईबीचको खेलले डब्लुसिएलको अंकगणितमा कुनै फरक पार्नेछैन। किनकि दुवै टिम डिभिजन–२ मा झरिसकेका छन्।
अंकतालिकामा फरक नपारे पनि युएई विरुद्धको खेललाई नेपालले डिभिजन–२ को तयारीको रुपमा लिएको छ।
'दुवै प्रतिस्पर्धामा हामी आफ्नो नेचुरल खेल खेल्छौं', टमाटाले नेपाल लाइभसँग भने, 'हामीले युएईसँगको खेललाई डिभिजन–२ को तयारीको रुपमा लिएका छौं।'
डिभिजन–२ आगामी फेब्रुअरीमा नामिबियामा हुँदैछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ।
डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चारभित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।
अन्तिम चरणमा जित हात पारेर पाँचौं स्थान हात पार्ने योजना रहेको पनि टमाटाले सुनाए।
'यसअघिका खेलमा जेजस्तो भए पनि हामी राम्रो क्रिकेट खेल्ने कोसिस गर्छौं', टमाटा भन्छन्, 'जित हात पार्दा डब्लुसिएल च्याम्पियनसिपको वरीयतामा पनि सुधार हुन्छ।'
युएईसँग प्रतिस्पर्धा गर्नुअघि नेपालले २ वटा अभ्यास खेल खेल्नेछ। नेपालले आउँदो शुक्रबार अमेरिका र आइतबार केन्यासँग अभ्यास खेल खेल्ने कार्यक्रम छ। अभ्यास खेलले पनि नेपाली टिमको तयारीमा फाइदा पुग्ने टमाटाले बताए।
डब्लुसिएलका अन्तिम चरणका खेल
मंसिर २० र २२ गते
नेपाल भर्सेस युएई
केन्या भर्सेस स्कटल्यान्ड
हङकङ भर्सेस पपुवा न्युगिनी
नेदरल्यान्डस भर्सेस नामिबिया
नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, दिलीप नाथ र शक्ति गौचन।
वैकल्पिक खेलाडी– कुशल भुर्तेल, अनिलकुमार साह, जितेन्द्र मुखिया, सिद्धान्त लोहनी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।