धनगढी- बिहीबार दिउँसो १ बजेतिर नेपालगञ्जका इश्लाम अहमद कुरैसीको मोबाइलमा घन्टी बज्छ। चिनजानकै नम्बरबाट फोन आएको देखेर उनले फाेन उठाउँछन्। फाेन थियाे अहमदकी छाेरी रुकसार कुरैसीकी नन्दकाे।
छाेटाे कुराकानीका क्रममै अहमद सम्हालिन सक्दैनन्। पत्याउनै नसकेकाे खबर सुनेका उनका आँखामा आँशु थामिदैन। उनी फाेनमा थप बुझ्न पनि सक्दैनन्। आखिर के सुनाएकी थिइन् रुकसारकी नन्दरानीले अहमदलाई?
'....भाउजुले आत्महत्या गरिन्।'
अहमदकी २५ वर्षीया छोरी रुकसारले आत्महत्या गरेको खबर सुनेकाे केहीबेरमा अहमद मन दह्राे बनाउँदै गाडी रिजर्भ गरेर छाेरीकाे घर कैलालीतिर लाग्छन्। तर, उनी छोरीकाे घरमा नपुग्दै उनकाे शव सेती अञ्चल अस्पतालमा ल्याइसकिएको हुन्छ। अस्पताल पुगेपनि अहमदले छाेरीकाे शव हेर्नु त परकाे कुरा शवकाे नजिकमा समेन जान पाउँदैनन्।
शुक्रबार उनी छोरीको शव हेर्नकै लागि बिहानदेखि नै प्रहरी कार्यालय धाइरहेका भेटिए। तर, उनकाे इच्छा यति सजिलै पूरा हुने पाला थिएन। सरकारी वकिल कार्यालयमा पुगेर कागजपत्र बनाएपछि मात्र दिउँसो उनले छोरीको शव हेर्न पाए।
पीडा र छटपटी भरिएकाे अनुहारका साथमा सरकारी वकिल कार्यालयमा उनी घटनाका बारेमा हामीसँग बाेल्न राजी भए।
'छोरीले आत्महत्या गरेकी होइन। मेरी छोरीको हत्या भएको हाे', कुराकानीकाे सुरुवातमा अहमद रुखाे सुनिए, 'रुकसारकाे दाइजोकै कारण हत्या भएको हाे।'
घटनाबारे बताइरहेका अहमद बोल्दाबोल्दै एक्कासी भक्कानिए। उनको मुखबाट रोदनमिश्रित मुस्किलले शब्द निस्कियो, ‘छो....रीले ....।’
केहीबेरपछि पुनः संवादमा जाेडिएका अहमदले केही महिनादेखि छाेरीलाई दाइजाे नल्याएकाे भन्दै यातना दिइने गरेकाे सुनाए। 'छोरीकी सासुआमा, नन्द र दुई देवरले दाइजो नल्याएकाे भन्दै यातना दिइरहेका थिए। एक मोटरसाइकल र ३ लाख रुपैयाँ नगद मागेकाे छाेरीले बताएकी थिइ।', उनले भने।
पछिल्लाे ७ महिनासम्म छाेरीले राम्रै कुरा गरेपनि एक महिनादेखि भने आफूलाई नराम्राे व्यवहार गरिँदै आएकाे छाेरीले बताएकाे अहमदले सुनाए। 'एक महिना अघिदेखि घरमा दाइजोको कुरा उठेको हरेछ। छोरीले फाेन गरेर आफ्ना घरवालाले रुपैयाँ र मोटरसाइकल मागिरहेका छन्, के गरु भनेकी थिइन्', रुकसारले फाेनमा भनेकाे कुरा सम्झिए उनले।

रुकसारले अहमदलाई आत्महत्या गरेकाे खबर सुनेकाे ५ मिनेट अघि मात्रै पनि कुरा गरेकी रहिछन्। 'बिहीबार पनि छोरीले मलाई दाइजोकै कुरा गरेकी थिइन्। म भोलि आउँछु, शान्त भएर बस्। तिनीहरूले भनेका कुरा दिन्छु भनेर फोनमा भनेकाे थिएँ। तर, गफ गरेको ५ मिनेटपछि नै छोरीकाे मृत्यु भएकाे खबर सुनें', अहमद यसअघि बाेल्न काेशिष गरे तर भक्कानिए मात्र।
२५ वर्षीया रुकसारको ९ महिनाअघि मात्र साहेब आलमसँग विवाह भएको थियो। कैलालीको गोदावरी नगरपालिका-१, वनकट्टामा भाडामा बस्दै आएका साहेवकी आमा नकुसाले अहमदकाे घरमै आएर रुकसारलाई आफ्नाे छाेराकाे लागि मागेकी रहिछन्।
केहीबेरपछि सम्हालिँदै अहमद फेरि आफ्ना कुरा सुनाउन थाले। विवाहको समयमा दाइजोकाे कुरा नभएकाे उनले बताए। 'तर, मैले सकेकाे सुनचाँदी, एचडी टिभी, भाडाकुँडा लगायतका विभिन्न सामान दिएको थिएँ', लामाे श्वास फेर्दै उनले भने।
मृतकका श्रीमान साहेव र उनका भाइ पक्राउ
प्रहरीले अहिले मृतकका श्रीमान साहेव र उनका एक भाइलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्टले रुकसारका माइती पक्षबाट ६ जनाविरुद्ध ‘मर्नुसम्मको परिस्थिति सिर्जना गरियो’ भनेर किटानी जाहेरी आएको बताए। उनले अन्यलाई नियन्त्रणमा लिने प्रयास भइरहेको पनि जानकारी दिए।
प्रहरी निरीक्षक विष्टका अनुसार हत्या भएको प्रमाणित भएमा ज्यान मुद्दाअन्तर्गत सजाय हुने र आत्महत्या गर्ने परिस्थिति सिर्जना गरेकोमा ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।