चक्काजामका क्रममा माेटरसाइकललाई अवराेध गर्दै स्थानीय।
धनुषा- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै धनुषाको महेन्द्रनगरमा आज दिनभर प्रदर्शन गरिएको छ।
ढल्केवर–जनकपुर राजमार्गको क्षीरेश्वरनाथ नगरपालिका-५, महेन्द्रनगर सडकखण्डमा टायर बाली सडक अवरुद्ध गरिएकाे हाे। बलात्कारीलाई फाँसीको सजाय माग्दै स्थानीयले चक्काजाम गरेका हुन्।
गत बैसाख १५ गते आइतबार क्षीरेश्वरनाथ नगरपालिका-५, महेन्द्रनगरमा एक १४ वर्षीया बालिकालाई घरमा कोही नभएको बेला ३३ वर्षीय राजकुमार साहले बलात्कार गरेका थिए। हाल बलात्कृत बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।
पीडित परिवारजनले बैसाख १६ गते दिएको किटानी जाहेरीको आधारमा पीडक साहलाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणीको मुद्दा चलाएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज अमिर दाहालले जनाए।
यता पीडित परिवारजन र स्थानीयले बलात्कारीलाई छिटो भन्दा छिटो कारबाहीसहित फाँसीको सजाय माग गर्दै प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रेकाहरुले कतै कुनै प्रलोभन र घटना मिलाउने प्रयास कतैबाट नहोस् भन्ने हिसाबले समेत प्रदर्शन गरिएको बताए।
बालिका थप उपचारका लागि काठमाडाैंंमा
यता पीडित बालिकाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको हुनाले थप उपचारको लागि काठमाडाैं पठाइएको छ ।
घटनापश्चात् बालिकालाई उपचारको लागि जनकपुरको धनुषा अस्पताल एन्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो। तर, त्यहाँ स्वास्थ्य अवस्थामा सुधार नआएको र अवस्था झनै बिग्रिँदै गएको हुँदा थप उपचारको लागि काठमाडाैं पठाइएको हो।
उपचारमा संलग्न डा सञ्जीव गोइतका अनुसार बालिका छिन-छिनमा बेहोस हुने गरेको र मानसिक रुपमा भित्रैदेखि डराएको कारण डिप्रेसनमा जाने सम्भावना रहेको छ।

अनुसन्धानमा संलग्न डिएसपी ज्ञान कुमार महतोका अनुसार बालिकाकाे हाल काठमाडाैंस्थित बिएन्डबी हस्पिटलमा उपचार भइरहेकाे छ।
डिएसपी महतोले भने, ‘हामी यस घटनालाई सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौं। घटनाका प्रकृति र घटनास्थलको प्रकृति मुचुल्का हेर्दा बलात्कार भएकै हो, अब पक्राउ गरिएका अभियुक्तसँग भेजाइनल स्वायब म्याच गरेपछि केही भन्न सकिन्छ। प्रहरीको तर्फबाट अनुसन्धान जारी छ। दोषीलाई हदैसम्मको कारबाही हुन्छ।’
पीडितलाई न्याय दिलाउन साथमै : मानव अधिकार आयोग
यसअघि शुक्रबार राष्ट्रिय मानव अधिकार आयोग जनकपुरकाे टोलीले घटनाको सन्दर्भमा चासो राखी अनुगमनसमेत गरेकाे थियाे।
आयोगका मानवअधिकार अधिकृत रेखा दत्त नेतृत्वको टोलीमा इन्सेक प्रदेश २ संयोजक राजु पासवान, इन्सेक महोत्तरी प्रतिनिधि अजय शाह, बाेरेक धनुषा संयोजक रोजलिन बच्छार, महिला अधिकारकर्मीहरु जमुना भुजेल र मीना केसीलगायत थिए। टाेलीले पीडित परिवारसँग भेटघाट गर्नुको साथै घटनास्थल र घटनाबारे जानकारी लिएकाे थियाे।
उक्त टोलीले इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज इन्स्पेक्टर अमिर दाहालसँग भेट गरी दोषीउपर कारबाही प्रकृयाको अवस्थाबारे समेत जानकारी लिएका थिए।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज इन्स्पेक्टर दाहालले पीडित पक्षले बैसाख १६ गते दिएको किटानी जाहेरीको आधारमा मुद्दा दर्ता गरी सोही दिन पीडक ३३ वर्षीय राजकुमार साहलाई गिरफ्तार गरिएको बताए।
अनुगमन टोलीले पीडित परिवारलाई न्याय दिलाउन साथमा रहेको बताउँदै दोषीलाई कानुनी कारबाहीको प्रकृयाबाट पछाडि नहट्न सुरक्षा निकायलाई आग्रहसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।