काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने स्पष्ट पारेको छ।
राष्ट्रपतिद्धारा सरकारको आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएकाृ नीति कार्यक्रमप्रति विमति राखेको छ। गत वर्षको नीति तथा कार्यक्रमलाई मौन समर्थन गरेपनि यस वर्ष समर्थनको अवस्था नरहेको कांग्रेसले प्रष्ट पारेको छ।
प्रवक्ता शर्माले भने, ‘नीति चार बोरा आएको छ। तर, कार्यक्रम एक अम्खोरा जति छ।’
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मिथ्यांक प्रस्तुत गरेको शर्माले आरोप लगाए। हिंसा अन्त्य भएको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउँदै उनले भने, ‘यो सरकारले हिंसा अन्त्य गरेको हो? के आधारमा भन्यो? बरु यो सरकारको समयमा बम पड्केर मान्छे मरेका छन्। दलमाथि प्रतिबन्ध लागेको छ। बलत्कार र हिंसाका घटना बढेको छ।’
तथ्य र तथ्यांकमा नतिजा ल्याउने दाबी गरको सरकारले तथ्यांक देखाउने हिसाबबाट सरकारले प्रष्ट गर्ने केही नदेखिएको उनको भनाइ छ। उनले भने, ‘स्टिमर चलेको गौरवको साथ प्रस्तुत गरियो। तर, कोसीमा स्टिमर चलेको धेरै वर्ष भइसक्यो।’
'सामाजिक सुरक्षा कोषका लागि तामझामका साथ सरकारले सुरुवात गरेको कार्यक्रमले कोषमा कुनै प्रगति भएको छैन,' नेपाल लाइभसँगको वार्तामा उनले भने। रोजगारदाताहरूको सहभागिता न्यून रहेको उनले औंल्याए।
भ्रष्टचार घटेको दाबी गर्ने सरकारकै समयमा वाइडबडी, बुढीगण्डकी जस्ता काण्ड भएकाले सरकारको दाबी एकतर्फी भएको उनले बताए।
संघीयता बलियो बनाउने कुनै नीति नदेखिएको भन्दै आपत्ति जनाए। प्रधानमन्त्री रोजगार कार्यक्रम विफल भएको बताउँदै शर्माले भने, ‘छुट्याइएको ४ अर्बमा एक प्रतिशत पनि खर्च भएको छैन। तर, प्रगति भएको छ भनियो।’
रोजगारी सिर्जना गर्ने कुनै कार्यक्रम नै सरकारसँग नभएको उनको आरोप छ।
चुरे मार्गलाई अन्य ठाँउको बाटो गाँसेर मदन भण्डारी लोकमार्ग नामाकरण गरेर बनाउने भनिए पनि कुनै प्रगति नभएको उनले बताए। भण्डारी लोकमार्गको सिमाकंन फेरिएको प्रति आपत्ति जनाए।
राष्ट्रपतिले सदनमा प्रस्तुत गरेको ‘मेरो सरकार’ शब्दावली प्रति कडा आपत्ति जनाउँदै शर्माले भने, ‘संविधानको कुन धारामा मेरो सरकार भन्ने छ? यो गम्भीर कुरा हो।’
कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले राष्ट्रपतिले संसदमा पेस गरेको नीति तथा कार्यक्रमलाई निबन्धको संज्ञा दिएका छन्।
एक वर्षमा गरिने महत्वपूर्ण कार्यक्रमको प्रस्तुति गर्नु पर्नेमा दुई घन्टाको भाषण मात्रै भन्दै नीति तथा कार्यक्रमको प्रस्तुति प्रति आपत्ति जनाए। उनले भने, ‘आधा घन्टा विगतमा के कसो भयो भनी आत्म प्रशंसामा बित्यो। आगामी वर्ष गरिने प्राथमिकताका कामहरूलाई महत्व दिइएन।'
विभागहरूले नियमित रुपमा गर्ने सामान्य कामहरू पनि नीति तथा कार्यक्रममा समेटिएको प्रति आपत्ति जनाए।
कतिपय कार्यक्रमहरू राष्ट्रपति, प्रधानमन्त्रीको नाममा राखिएको प्रति उनले आलोचना गरे। कार्यक्रमहरू विभिन्न ठाँउमा छरिएको उनले बताए।
सामान्य कार्यक्रमलाई बढाइचढाई प्रस्तुत गरिएको भन्दै उनले नीति तथा कार्यक्रमको समर्थन गर्न नसकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।