सन् २००८ मा मलेसियास्थित पेनाङ रंगशालामा नेपाली यू–१९ क्रिकेट टोली विश्वकप क्रिकेटको समूह चरणको खेलमा आफूभन्दा निकै बलियो अस्ट्रेलियासँग भिड्दै थियो। त्यतिबेला अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्ने क्रममा दमदार सुरुवात गर्यो। ‘नन–स्ट्राइकिङ इन्ड’ बाट खेलिरहेका एक अस्ट्रेलियाली ब्याट्सम्यानले नेपाली बलरलाई रुवाएका थिए।
निकै संयमित भएर खेलिरहेका उनले हेर्दाहेर्दै ९४ बलमा २ चौकाको सहयोगले ४६ रन बनाए। उनले जतिबेला अर्धसतक पुर्याउन ४ रन बाँकी थियो, त्यति बेलै राहुल विश्वकर्मा बलिङको मोर्चा सम्हाल्न अगाडि आए। उनले आफ्नो पहिलो बल अफ–स्टम्पमा राखे। अस्ट्रेलियाका ती ब्याट्सम्यानले राम्रोसँग खेल्न सकेनन्। राहुलले फेरि अफ–स्टम्पमै उनलाई दोस्रो बल पनि खेलाए। यतिबेला पनि उनी रन लिन चुके। तेस्रो बलको कहानी पनि यस्तै रह्यो।
यसपछि केही विचलित देखिएका अस्ट्रेलियाका यी ब्याट्सम्यान राहुलको चौथो बलमा लामो प्रहार गर्न चाहन्थे। तर, ब्याट्सम्यानको मनोदशालाई पहिले नै बुझेका राहुलले चौथो बल अफ–स्टम्पभन्दा हल्का बाहिर राखे, त्यो पनि ड्राइभिङ–लेन्थमा। यसपछि के चाहियो! लङ–अनमाथिबाट छक्का हान्ने चक्करमा क्रिज बाहिर निस्किएका ती ब्याट्सम्यान विकेट किपर महेश क्षेत्रीबाट अफ–स्टम्प भए।
युथ विश्वकपमा त्यसरी आउट गरेको अस्ट्रेलियाका तिनै ब्याट्सम्यानको क्रिकेट खेल्ने क्रममा निधन भएको खबर एकाएक सुनेपछि राहुल स्तब्ध भए। ती क्रिकेटर थिए अस्ट्रेलियाका प्रभावशाली युवा ब्याट्सम्यान फिलिप ह्युज, जसको २०१४ नोभेम्बर २५ मा सिड्नी क्रिकेट मैदानमा स्थानीय लिग सेफिल्ड सिल्ड खेल्ने क्रममा टाउकोमा चोट लागेको थियो। त्यसको दुई दिनपछि नै उनको निधन भयो। उनको निधन भएको आज तेस्रो वर्ष पूरा भएको छ।
अस्ट्रेलियाले एसेस शृंखलाअन्तर्गत गाबा टेस्टमा सोमबार बिहान इंग्ल्यान्डलाई १० विकेटले पराजित भएपछि उनलाई श्रद्धाञ्जली पनि दिएको छ।
अस्ट्रेलियाका यिनै उदीयमान ब्याट्सम्यानलाई राहुलले युथ विश्वकपमा ४६ रनमा आउट गरेका थिए।
‘उनको निधनको खबरले म स्तब्ध भएको थिएँ’, राहुलले नेपाल लाइभसँग भने– ‘उनको खेललाई मैले टेस्ट टोलीमा परेदेखि पछ्याइरहेको थिएँ।’
ह्युजले युथ विश्वकपमा संयमित खेल्दै अस्ट्रेलियाबाट सर्वाधिक रन बनाएका थिए। अस्ट्रेलिया सो खेलमा ४९ दशमलब ३ ओभरमा २ सय ६ रन बनाउँदै अलआउट भएको थियो। जवाफमा नेपालले ३२ दशमलब १ ओभरमा १ सय १० रन मात्र बनाउँदा ९६ रनले पराजित भयो।
यस खेलमा आफूलाई स्टम्पिङ गर्ने विकेटकिपर महेश क्षेत्रीलाई १ रनमै रनआउट गराउन ह्युजले नै डाइरेक्ट–हिट गरेका थिए। सो खेलमा अस्ट्रेलियाका टेस्ट कप्तान स्टिभन स्मिथ र अर्का बलर जेम्स पेट्टिन्सन नेपाली खेलाडीसँग ‘स्लेजिङ’ मा उत्रिएका थिए।
त्यो खेलमा नेपाली टोलीका कप्तान पारस खड्काले ४ विकेट लिएका थिए। उनी ह्युजको निधनलाई समग्र क्रिकेट जगतको दुःखको दिन मान्छन्।
‘एउटा सामान्य किसान परिवारबाट आएका हयुजले सबैमाझ उदाहरण प्रस्तुत गरेका थिए। त्यसैले उनको निधन सबैलाई स्तब्ध पार्ने खालको थियो’, पारस भन्छन्।
उनी कुनै पनि खेलाडीलाई मैदानमा यस्तो नहोस् भन्ने कामना गर्छन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।