काठमाडाैं- राजाको समयमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमको शैलीमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत भएकाे भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ।
गणतन्त्रको समयमा राजाले प्रयोग गर्ने ‘मेरो सरकार’को शब्दावलीलाई सोही सरह प्रयोग गरिएको भन्दै विरोध भएको हो। गणतन्त्रात्मक व्यवस्थामा राजाको शैली सम्बाेधनमा प्रस्तुत गरिएको भनी सञ्जालमा आपत्ति जनाइएको छ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले 'नेपाली जनाताले बनाएको सरकार छ कि राष्ट्रपतिको सरकार?' भनी प्रधानमन्त्रीलाई जिज्ञासा राखेका छन्। 'राजाकै शैलीमा राष्ट्रपतिको संवोधन शैली हुने भनी संविधानमा कहाँ उल्लेख छ?' भनि जवाफ मागेका छन्। उनी भन्छन्, ‘कुनैबेला श्री ५ को सरकार थियोे, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे। आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ?’

कांग्रेस युवा सांसद गगन थापाले ‘महामहिम ज्यूको’ निजी सरकारको कार्यक्रम घोषणा भइरहेको टिप्पणी गरेका छन्। राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा संघीय संसदमै रहेका सांसद थापाले सामाजिक सञ्जाल टि्वटरमा लेखेका छन्, ‘म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यूको निजी सरकारको कार्यक्रमको पो घोषणा भइरहेको छ। प्रधानमन्त्री ज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?’

पूर्व अर्थसचिव रामेश्वर खनालले राष्ट्रपतिको शैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले ‘यो सार्वभौम नेपाली जनताको सरकार हो कि राष्ट्रपतिको?’ भन्दै प्रश्न गरेका छन्। राष्ट्रपतिको अभिव्यक्तिले पुरानै चलनको पुनरावृत्त गरेको भन्दै आपत्ति जनाएका छन्।
राजनीति लेखक तथा राजनीतिक विश्लेषक युग पाठकले ‘अरुलाई आफ्नो सरकार लागेर के गर्नु त? खसोखास सरकार त उहाँकै हो’ भनी व्यङ्य गरेका छन्।

राष्ट्रिय भूमी अधिकार मञ्चकी अध्यक्ष सरस्वती सुब्वाले नेपाल सरकार भनी सम्बाेधन गरेको भए उपयुक्त हुने सुझाव दिएकी छिन्। उनी लेख्छिन्, ‘लोकतान्त्रिक गणतन्त्र देशमा मात्रै होइन बोली व्यवहारमा पनि जरुरी छ। नत्र राजा र राष्ट्रपतिमा फरक के हुन्छ?’
अमेरिका रहेका पत्रकार गिरिश पोखरेलले 'महारानीको भाषण लेख्ने पूर्व राजाका कारिन्दाहरु परेजस्तो भान परेको' उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘कृपया महारानीको भाषण लेख्नेलाई मदन भण्डारीको रेकर्डेड भाषण सुन्न आग्रह गरौं।’
टि्वटरका अर्का प्रयोगकर्ता मिलन बगालेले पनि राष्ट्रपतिको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। राष्ट्रपतिका विगतका व्यवहारहरु उल्लेख गर्दै बगाले लेख्छन्, ‘भूतपूर्व प्रधानन्यायधीशलाई घुँडा टेकाएर टिका जमरा। आकाशमा जाम परेका जहाजको लाम। अनि संसदमा मेरो सरकार।’

सामाजिक सञ्जालमै रत्नसंसार श्रेष्ठले राजतन्त्र उन्मुलन गरेर गणतन्त्र ल्याएपनि राजकीय ढर्रा उस्तै रहेको लेखेका छन्। ‘राजतन्त्र उन्मुलन गरेर गणतन्त्र ल्याइयो। तथापि 'राजकीय' ढर्रा प्रदर्शन गरिँदैछ’, उनले याे कस्तो गणतन्त्र भनि प्रश्न गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।